अनुसन्धानमा प्रभावकारी बन्दै सीसीटीभी


सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजारका विभिन्न स्थानमा सीसीटीभी राखेपछि अपराध अनुन्धानमा प्रहरीलाई सहज भएको छ । सोलुदूधकुण्ड नगरपालिकाको करिब आठ लाख २० हजार रुपियाँको लागतमा सल्लेरी बजारमा सिसिटिभि जडान भएपछि शान्ति सुरक्षामा सहयोग पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको प्रत्यक्ष निगरानी रहने गरी बासा मोडदेखि तीनकुने, हुलाक कार्यालय, ५ नं. वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय, रेडक्रस कार्यालय, जिल्ला निर्वाचन कार्यालय, बसन्त बजार, नयाँ बजार र शनिवारे हाटसम्म दस स्थानमा सीसीटीभी राखिएको हो ।
नगरक्षेत्रभित्र शान्ति सुरक्षा तथा अपराध न्यूनिकरणका लागि पहिलो चरणमा जिल्ला सदरमुकाममा सीसीटीभी राखिएको सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो । पर्यटकीय जिल्ला भएकाले भ्रमणमा आउने पर्यटकहरुको सुरक्षार्थ सहजीकरणको लागि पनि यसको महत्व रहेको उहाँको भनाइ छ ।

ओखलढुङ्गा जिल्लासँग जोडिएको सिमानाका केरुङ पत्तालेदेखि फाप्लुसम्म फैलिएको सगरमाथा राजमार्गमा हुन सक्ने सवारी दुर्घटना, राजमार्ग क्षेत्रमा हुने चोरी, डकैती लगायत विभिन्न किसिमका अपराधहरुको नियन्त्रण तथा न्यूनीकरण गर्दै प्रहरीको कामकार्वाहीलाई प्रबिधिमैत्री बनाउनका लागि स्थानीय तहसँगको सहकार्यमा सीसीटीभी जडान एवं विस्तार गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कट्वालले बताउनुभयो ।

यसले अपराधसँग सम्बन्धित प्रमाण संकलन, अपराधमा संलग्न हुन सक्नेहरुका मनोबैज्ञानिक दबाव सिर्जना गर्न, अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम राख्न बिद्युतीय उपकरणको प्रभावकारिता बढाउन, सवारी दुर्घटनाको न्युनिकरण तथा सवारी चालकहरुमा अनुशासनको विकास गर्न, छिटो छरितो प्रहरी परिचालन गर्न, पर्यटकहरुमाथि हुन सक्ने अपराध नियन्त्रण गर्न यसले सहयोग गरेको उहाँको भनाइ छ ।

प्रहरीले अन्य सबै गाउँपालिकाका बजार क्षेत्रमा पनि सीसीटीभी राख्नका लागि समन्वय गरिरहेको जनाएको छ । जडान भएका सिसि क्यामेराहरुको नियमित रेखदेख, मर्मतसम्भार तथा अन्य व्यवस्थापनको लागि प्रत्येक स्थानीय तहमा सम्पुर्ण सरोकारवाला निकायका प्रतिनिधिहरुको प्रतिनिधित्व रहने गरी एक सीसीटीभी सञ्चालन, मर्मत सम्भार एवं अनुगमन सुपरीवेक्षण समिति गठन गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार