समाज सेवा र राजनीति कर्ममा ‘कर्मा’


मानिसलाई नपरी न भोगी थाहा हुँदैन भन्ने उदाहरणका रुपमा हुनुहुन्छ द स्मल वल्र्डका सञ्चालक कर्मा शेर्पा । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१, टाक्सिन्दुमा जन्मनुभएका शेर्पा विगत लामो समयदेखि सोलुखुम्बुका विभिन्न स्थानका गरिब तथा विपन्न परिवारका लागि शिक्षा, स्वास्थ्य तथा महिला शसक्तिकरणका क्षेत्रमा महामानवका रुपमा निरन्तर लामो समयदेखि सहयोग गर्दै आउनुभएको छ । अब कुरा सुरु गरौँ उहाँको परिवारिक पृष्ठभूमिबाट । दुर्गम हिमाली क्षेत्रमा जन्मनुभएका शेर्पा शुरुमा पेशा व्यवसायले पर्यटन क्षेत्रमा शुरुदेखि नै काम गर्दै पर्यटन व्यवसायीकै रुपमा अहिलेसम्म नेपालमा पर्यटन क्षेत्रमा लगातार काम गर्दै आउनु भएको छ । पिता जाङ्बु शेर्पा, माता सेना शेर्पाको कोखबाट पाँच छोरा र तीन छोरी मध्ये कान्छा छोराको रुपमा मिति २०३९ सालमा टाक्सिन्दुमा जन्मनु भएको हो । दाजु भाई पाँचजना मध्ये जेठो दाजुका परिवार अमेरिकामा, काँइलो दाजु खुम्बु पासाङल्हामू गाउँपालिकामा नेपाली काँग्रेसको प्रवक्ताका रुपमा राजनीतिमा सक्रिय हुनुहुन्छ । सोनामडोका शेर्पासँग बैवाहिक सम्बन्धमा बाँधिनुभएका कर्मा शेर्पाका दुई छोरा एक छोरी छन् । उहाँ काठमाडौँमा र सोलुखुम्बुमा गरी दुई ठाउँमा द स्मल वल्र्ड नामको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको माध्यामबाट समाज सेवामा तल्लीन हुनुहुन्छ । उहाँ पर्यटन व्यवसायीहरुको छाता संस्था टानमा समेत सक्रिय हुनुहुन्छ । समाजसेवीका रुपमा शेर्पा सोलुखुम्बु जिल्लाको पिछडिएको क्षेत्रका गरिब निमुखा टुहुरा बालबालिका र जनताका लागि एक महान व्यक्तित्व हुनुहुन्छ । सोलुखुम्बुका अनाथ, असहाय र गरिबीका कारण पढ्न नपाएका बालबालिकाहरुलाई विद्यालयको सम्पूर्ण शुल्क, किताब, कापी, ड्रेस आदिमा सहयोगको बन्दोबस्त मिलाएर शिक्षाको उज्यालो ज्योति प्रदान गर्न सधैँ अग्रपङ्क्तिमा प्रयत्नशिल हुनुहुन्छ । सयौँ असहाय बच्चाहरु पढाउनका लागि खाना बस्न सहित सम्पूर्ण खर्च आफँैले व्यवस्थापन गर्ने गरी सोलुखुम्बु जिल्लाको सदरमुकाम नजिक रहेको थातेङमा सुविधा सम्पन्न छात्रावास निर्माण गरी जिल्लाभरीका गरिब तथा असहाय दर्जनौँ छात्राहरुलाई उच्च शिक्षा अध्ययनका लागि अवसर प्रदान गर्दै महिला शसक्तिकरणमा टेवा पुर्याउँदै आउनु भएको छ । साथै अनाथ, असहाय र गरिब साना बालबालिकाका लागि सल्लेरीमा छुट्टै छात्राबास स्थापना गरी आफैँ सञ्चालक समितिको अध्यक्ष रहेको ह्वाइट हिल्स बोर्डिङ स्कुलमा सबै खर्च सहति निःशुल्क पढ्ने अवसर दिइरहनु भएको छ । जनतालाई सूचना तथा सञ्चारको पहुँचका लागि हिमाल एफएम स्थापना गरी सञ्चालक समितको सचिव समेत रहनुभएका शेर्पा मिलनसार र सहयोगी भावना भएको तथा प्रचार भन्दा काम धेरै गर्ने समाज परिवर्तनका एक होनाहार योद्धा हुनुहुन्छ, जसले कहिले पनि हार्न र अल्छी गर्न जानेको छैन ।

पेशाले पर्यटन व्यवसायी शेर्पा विशेष गरेर अमेरिकन पर्यटकहरुलाई नेपाल भित्र्याउँदै नेपालको पर्यटन विकासको एक मशिहाका रुपमा काम गर्दै देसको आर्थिक विकासमा समेत सहयोग गरिरहनु भएको छ । उहाँ विशेष गरेर अमेरिकनहरुसँग नजिक भएको हुँदा अमेरिकन पर्यटकलाई नेपाल तथा विशेष गरी सोलुखुम्बुका पर्यटकीयस्थल घुमाउने र विश्वमा परिचित गराउने वातावरण मिलाउने एउटा डाइनामिक सक्षम नेतृत्वकर्ता हो । उहाँसँग नजिक भएर काम गर्ने थुप्रै मानिसहरु छन् ट्रेकिङ व्यवसायमा । शेर्पा सहितको टीमले काठमाडौँको बौद्ध चुच्चे पार्टीमा पर्यटन विकासकै लागि पाँचतारेस्तरको सुविधा भएको खाङ्ग्री होटल सञ्चालन गरी राख्नुभएको छ । TSW संस्था मार्फत उहाँले सोलुखुम्बुलाई पुर्याउनुभएको मुख्य योगदानहरु यस्ता छन् ।

१. सोलुखुम्बुको सदरमुकाममा लामो समयदेखि छात्राबास सञ्चालन गरी हाल सयौँ बालबालिका तथा उच्च शिक्षा लिने छात्रा सबैलाई खान बस्न सहित सम्पूर्ण विद्यार्थीहरु अध्ययन गराउँदै ।

२. ह्वाइट हिल्स बोर्डिङ स्कुलमा छात्रावृत्ति मार्फत सयौँ गरिब बालबालिकाहरुलाई निःशुल्क पढाउँदै ।

३ .काठमाडौँमा पनि छात्रावृत्ति सञ्चालन गरी अनाथ बच्चाहरुलाई निःशुल्क बोर्डिङ्ग स्कूलमा पढाउँदै ।

४. सोलुखुम्बु जिल्लाका तत्कालीन धेरै गाविसहरु खुल्ला दिशा मुक्त घोषणा गर्ने कार्यमा TSW त ठूलो लगानी गर्दै नेपाल सरकारलाई सहयोग पुर्याएको ।

५. सोलुखुम्बुको विभिन्न स्थानका अमेरिकन चिकित्सक सहतिका स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै स्वास्थ्य संस्थालाई समेत सहयोग गरिरहेको ।

६. नेपालमा २०७२ सालमा गएको महाभूकम्पका बेला तत्काल आवश्यक पर्ने त्रिपाल, खाद्यान्न लत्ताकपडा औषधीलगायत विभिन्न सामग्री ठूलो मात्रामा सहयोग गरेको ।

७. भूकम्पका कारण सोलुखुम्बुको बासामा भत्किएका घर संस्थामार्फत पूर्ण लगानीमा भूकम्प प्रतिरोधात्मक दर्जनौँ घर चार महिनामा निर्माण गरी बासको प्रबन्ध मिलाएको र कतिपय भूकम्प पीडितलाई नगद सहयोग समेत गरेको ।

८. २०७२ सालकै महाभूकम्पले धेरै विद्यालयहरु भत्किए, त्यसबेला शेर्पाको पहलमा धेरै विद्यालय भवनहरु निर्माण भए जसले नेपाल सरकारलाई पुर्ननिर्माणमा सहयोग भयो ।

९. धेरै सामाजिक काम गरी रहनु भएका शेर्पाले सोलुखुम्बु जस्तो दुर्गम ठाउँमा सूचना र सञ्चार क्षेत्रमा पनि जनताको पहुँच अघि बढाउनु पर्छ भनेर हिमाली सञ्चार लि.अन्तर्गत करिब नेपालको आधा भूभागमा प्रशारण क्षमता भएको एफएम रेडियो एउटा टिम बनाएर सञ्चालन गर्नुभएको छ, जुन सफल रेडियोहरुमा पर्दछ । उहाँ रेडियोको सचिव हुनुहुन्छ ।

१०. विदेशी पाहुनालाई राम्रो बस्ने व्यवस्थाको नेपालमा कमी नहोस् भनेर सुविधा सम्पन्न होटलहरु संयुक्त लगानीमा सञ्चालन गर्दै पर्यटनमैत्री वातावरण बनाएको ।

११. जब नेपालमा कोरोनाले पर्यटन व्यवसाय ठप्प भयो, विभिन्न पेशा व्यवसाय ठप्प हुँदा जनजीवन अस्तव्यस्त बनेको थियो, त्यस बखत आम गरीब, मजदुर तथा निमुखा जनतालाई विभिन्न समूह टोल बस्तीहरुमा उहाँ र उहाँको टिम मार्फत खाद्यान्न लगायतका राहत वितरणमा अहोरात्र सरिक भएको ।

१२. सोलुखुम्बु जिल्ला नेपाली काँग्रेसका पूर्व पार्टी सभापति आङगेलु शेर्पा लगायतका नेताहरुलाई लिएर कोरोना सम्बन्धी कार्यक्रम सञ्चालन गर्न कोरोना कोष निर्माणार्थ बिउ पूँजी स्वरूप सोलुखुम्बुका एक नगरपालिका र सात गाउँपालिकामा भौतिक उपस्थितीमा पालिका प्रमुखहरुलाई प्रतिपालिका ५० हजारका दरले सहयोग रकम हस्तान्तरण गरेको । कोरोना कहरकै बेला आफ्नै उत्पादनमा प्रोत्साहनका लागि विभिन्न समूह टोलबस्तीमा तरकारी तथा फलफुलका बिऊ वितरण गर्दै विभिन्न समूहहरुमा कोरोना सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न नगद सहयोग गरेको ।

१३. दोस्रो लहरका रुपमा फैलिएको कोरोनाको कारणले गर्दा निषेधाज्ञामा दुःख पाएका मजदुर श्रमजीवीहरुलाई पनि खाद्यान्न लगायतका सामाग्री निरन्तर सहयोग जारी राख्दै छात्रावृत्तिमा पढाएका विद्यार्थीका अभिभावकलाई समेत खाद्यान्न सहयोग गर्नुका साथै काठमाडौँ पशुपति क्षेत्र लगायतका क्षेत्रमा बस्ने असहायहरुलाई खाना खुवाउने कार्यक्रममा समेत सहयोग गरिरहेको ।

यस्ता विभिन्न काम सञ्चालनका लागि उहाँको श्रीमती र परिवारका सदस्यहरुले पूर्ण रूपमा सहयोग गर्नु भएको छ भने कर्मचारीहरु पनि राख्नु भएको छ ।

अब कुरा गरौँ उहाँको स्वाभावका बारेमा । हक्की तथा मिजासिलो स्वभावका कारण उहाँलाई मानिसले पहिलो भेटमा मन पराउँछन् । प्रष्ट बोल्ने, अरूलाई सम्मान गर्ने, दीनदुःखीलाई निस्वार्थ सहयोग गर्ने बानी भएका शेर्पा सोलुखुम्बु शेर्पा समुदायको मात्र नभई समग्र सोलुखुम्बु जिल्लाको र नेपालकै लागि एक उज्वल भविष्य बोकेका गतिशील नेतृत्वका रूपमा उदाउनु भएको युवा नेता हुनुहुन्छ । आफू तमाम काम गरेर पनि चर्चामा आउन नखोज्ने स्वभावका शेर्पा राजनीतिक हिसाबले नेपाली काँग्रेसमा आबद्ध रहनु भएको छ । ठूला व्यक्तिको सङ्गत गर्ने, सबै विषयवस्तुमा जानकारी राख्ने र नेतृत्व क्षमताका धनी भएर पनि केही थाहा नपाए जस्तो नबुझे जस्तो गर्ने र गफ गर्दा अरूको कुरा राम्ररी सुन्ने अनि सही कुरा गरे मात्र विषयवस्तुमा प्रवेश गर्ने, सही विषयमा मात्र अडिक रहने, चाप्लुसी र गलत कुरा गर्नेको लागि विरोध गर्ने बानीका शेर्पा नेपाली मात्र हैन विदेशी हाई प्रोफाइलका व्यक्तिको रोजाइमा पनि उत्तिकै पर्नु हुन्छ । बेलाबेला विदेशी राजदूत, नेता, सेलिब्रेटीहरुसँग उहाँको राम्रैसँग भेटघाट, चियापान कार्यक्रमहरुमा सहभागीता रहन्छ, तर न कसैलाई भन्नु हुन्छ न देखाउनु नै हुन्छ । उमेरले हामी २÷३ बर्ष फरक होला तर हामी जस्तो विकट देशमा जन्मेर हुर्केर नेपालमा यति कम उमेरमा समाज सेवाका यति धेरै काम गर्नका लागि सजिलो छैन । केही नगन्य व्यक्तिलाई मात्र यो अवसर आउँछ ।

अब उहाँको राजनीतिक यात्राका बारेमा थोरै चर्चा गरौँ ।
शेर्पा राजनीतिक हिसाबले नेपाली काँग्रेस सोलुखुम्बु जिल्लाको पर्दा पछाडी बसेर पार्टी संगठन र नेतृत्व तथा कार्यकर्तालाई सहयोग गर्ने व्यक्तिभित्र उहाँ हाम्रो पुस्तामा सधैँ अघि हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट शुरु भएको राजनीतिक यात्रा पार्टीका विभिन्न जिम्मेवारीमा कुनै लाभ विना पार्टीलाई योगदान दिएका व्यक्तिहरुको सूचीमा उहाँ पनि पर्नुहुन्छ । हाल उहाँको योगदानको सम्मान गर्दै नेपाली काँग्रेस केन्द्रीय पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय विभाग वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको सदस्य जस्तो गरिमामय पदमा मनोनयन भई बहाल रहनु भएको छ । नेपाली काँग्रेस सोलुखुम्बुका उदाउँदो भविष्य बोकेका युवा नेता कर्मा शेर्पा राजनीतिक जीवनमा आगाडी आउने हो भने समग्र सोलुखुम्बु र देशले नै फाइदा पाउँछ । युवा नेता शेर्पाले सोलुखुम्बुमा जति काम गर्नु भएको छ कहिले पनि आफ्नो व्यक्तिगत स्वार्थको लागि प्रयोग गर्नु परेको पनि छैन र गर्नु भएको पनि छैन । पढ्ने पाठकलाई लाग्दो हो यो फेहरिस्त किन भनेर ? तर अब सोलुखुम्बु काँग्रेसमा यस्तै यस्तै योगदान गरेका धेरै युवा नेताहरु हुनुहुन्छ, यस्ता व्यक्तिहरूलाई तमाम सोलुका कार्यकर्ता तथा नेताहरूले सही मूल्याङ्कन गरी राजनीतिलाई समाज सेवाका रुपमा लिएर समाज देश र जिल्लाका लागि उहाँहरुबाट सहयोग लिएर समाजलाई माथि उठाउन जरुरी छ । अहिले नेपाली राजनीतिमा धेरै विसङ्गती जन्मिएका छन् । कोही कमाउनलाई राजनीतिमा लागेका छन् भने कोही ठालु बनेर हैकम देखाउनलाई लागेका छन्, कोही बाहिर बसेर पैसा कमाएर जिल्लामा खर्च गरेर राजनीतिक फाइदा लिनका लागि लागेका छन् त कोही जिउ पाल्नलाई लागेका छन् । तर घरको दिएर त्यसले नपुगे आफँै खोजेर ल्याएर समाज सेवा गर्ने कमै पाइन्छ । यस्ता व्यक्तिहरूलाई काँग्रेसमा मात्रै हैन सबै पार्टीहरुमा राजनीतिमा प्रवेश गराएर अझ उनीहरूबाट समाजका लागि धेरै भन्दा धेरै सहयोग लिनुपर्छ । त्यस मध्ये मेरा संगतका अरु यस्तै डाइनमिक लिडर गार्माका सोनाम ग्याल्जेन शेर्पा, टिपटप ट्रेकिङ तथा लोरेन नेपालका सञ्चालक निमा शेर्पा, मोनभिजो फाउण्डेसनका छोङ्बा लाम शेर्पा, गोराका काजी शेर्पा लगायत धेरै व्यक्तित्वहरू हुनुहुन्छ । मेरो उमेर समूहका मिलनसार र सहोगी व्यक्तित्वहरुको योगदानका बारेमा फेरी कुनै समयमा यसरी नै प्रस्तुत गर्ने छु ।

समाज विकासका लागि सहयोग गर्ने कमै कर्मा भेटिन्छन् । समाजले यस्ता व्यक्तिहरु एक जना मात्र पाउँदा पनि समाजको मुहार परिवर्तनमा सहयोग पुग्छ । त्यसैले टीमको र पार्टीको पर्दाभित्रका राम्रा कर्मा जस्ता अन्य धेरै युवा नेता कार्यकर्तालाई छानेर अब आउने १४ औँ महाधवेशनबाट राजनीतिमा खुल्ला प्रवेश गरी समाज सेवामा लगाउन सकिन्छ । तर सम्बन्धित व्यक्तिको इच्छा भएमा मात्र जबर्जस्ती हैन । समाजसेवी कर्मा शेर्पाले सोलुखुम्बु र देशकै लागि तपाईंको ठाउँबाट पुर्याउनु भएको योगदानको हृदय देखिनै कदर गर्दै धन्यबाद दिन्छु । तपाईंका आगामी दिनमा पनि यो समाज सेवाको कामले निरन्तरता पाओस् । समाजलाई नजिकबाट नियालेका र अध्ययन गरेका व्यक्तिलेनै समाजका दुःख सुख बुझेर समाज सेवा गर्ने हुन् । सोलुखुम्बुमा सहयोग जुटाउने समाजसेवी मध्ये तपाईं पनि एक खम्बा हो । त्यसैले तपाईले जे जस्तो गरिमा कायम राख्न सफल हुनु भएको छ यो गरिमा कायम रहीरहोस् । शुभकामना, धन्यबाद ।

कर्मा शेर्पाले गरेका समाज सेवासँग सम्बन्धित केही तस्बिरहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार