नयाँ भेरियन्ट कतिको घातक होला ?

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेल्टा भाईरसको नयाँ म्यूटेसन फेला परेको जनाएसँगै नयाँ म्यूटेड भेरियन्टले कत्तिको असर गर्छ भन्ने सबैको जिज्ञासा छ । कोरोना भाईरसको डेल्टा भेरियन्ट नै बढी संक्रामक भएको जनाईरहँदा यसको नयाँ म्यूटेसन देखिदा यो कति संक्रामक हुन्छ भन्ने कुरा अझ जिज्ञासाको विषय हो ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा.बासुदेव पान्डेयले भाईरसहरुको उत्परिवर्तन निरन्तर चलिहने भए पनि अहिलेको डेल्टा भेरियन्टको नयाँ म्युटेसन घातक हुन सक्ने बताउनुभएको छ ।

विभिन्न देशहरुमा डेल्टा भेरियन्टबाट नै धेरै मानिस संक्रमित भैरहेकाले यो नयाँ म्यूटेसनले पनि धेरै मानिसलाई संक्रमण गर्न सक्ने उहाँले बताउनुभयो ।

यो नयाँ म्यूटेड भेरियन्टले विशेषगरी बालबालिकालाई बढी संक्रमण गर्न सक्ने उहाँले बताउनुभयो । बिभिन्न देशहरुमा पनि अहिले बालबालिका बढी संक्रमित भइरहेको अवस्थामा नेपालमा पनि बालबालिका बढी जोखिम रहेको छ उहाँले भन्नुभयो बालबालिकाले खोप पनि लगाउन नपाएकाले यो नयाँ म्यूटेड भेरियन्ट बढी घातक हुनसक्छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले पनि यो नयाँ म्यूटेड भेरियन्ट खतरनाक नै रहेको बताउनुभएको छ ।

यो भेरियन्ट नेपाल सरकारले जनाएजस्तो नौलो नरहेको उहाँको भनाई छ । सरकारले नौलो म्यूटेसन पत्ता लाग्यो भन्नु भन्दा उनीहरु कुन उमेर समुहका हुन अहिले उनिहरुको अवस्था कस्तो छ भन्ने कुरा महत्वपूर्ण हुनेमा उहाँको जोड छ ।

दोस्रो लहर उत्कर्षमा पुगेको बेला नेपालमा डेल्टा भेरियन्ट देखिएकाले अहिले यसको म्यूटेड भेरीयन्ट बढी संक्रामक पनि हुन सक्ने उहाँको भनाई छ । यो भेरियन्टले खोप नलगाएका जुनसुकै उमेर समुहकालाई पनि आक्रमण गर्न सक्ने उहाँ बताउनुहुन्छ ।

यस्तै माईक्रोबायोलोजिस्ट डा. प्रकाश घिमिरेले भाईरसको म्यूटेसनलाई स्वभाविक प्रक्रियाका रुपमा लिनुपर्ने बताउनुहुन्छ । जुनसुकै भाईरस पनि म्यूटेसन हुने भएकाले म्यूटेड भेरियन्टको प्रकृति र संक्रमणलाई नियाल्नुपर्ने उहाँले बताउनुभयो ।

सरकारले सूचना प्रकाशित गरेर नयाँ भेरीयन्ट पत्ता लाग्यो भनेर नागरिकमा त्रास उत्पन्न गर्नु नहुने उहाँको भनाई छ । सरकारले नयाँ म्यूटेड भेरीयन्टको संक्रमण दर कस्तो छ कस्ता प्रकृतिका मानीसलाई यसले संक्रमण गरेको छ भन्ने कुरामा जोड दिनुपर्ने उहाँको आग्रह छ। । बालबालिकाहरुले खोप नलगाएको अवस्था भएका कारण यो नयाँ म्यूटेड भेरियन्टले उनिहरुलाई असर गर्न सक्ने उहाँ बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार