यी हुन् धेरै विवादमा परेका ४ तीजगीत

कुनैबेला तीजगीत भन्ने बित्तिकै ग्रामिण महिलाहरुले दुःख र बेदना पोखिएका गीत भन्ने बुझिन्थ्यो । हरिया चुरा र मेहन्दी लगाएका महिलाहरुले सभ्य तरिकाले नाच्ने गीतलाई तीजगीत मानिन्थ्यो । तीजगीतका भिडियो पनि त्यस्तै बन्थे । हातमा हरियो र चुरा र घेरेलु मेहन्दी लगाएका चेलीबेटीले झमझमी नाचिरेको दृश्य टेलिभिजनका पर्दामा देखिने गथ्यो । तर, आजकल समय बलदिएको छ ।

तीजगीतका नाममा उत्ताउला र समाजमा नै नपच्ने उश्रृंखल खालका शब्द राखेर गीत गाउने र भिडियो बनाउने प्रचलन केही वर्षयता बढेको छ । यस्ता शब्द राखेर गाइएका गीत र भिडियो विवादमासमेत आएका छन् । कतिपय गायक–गायिकालाई त राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठानले बहिस्कारसमेत गरिसकेको छ । आजको दिनसम्म आइपुग्दा धेरै तीजगीत विवादमा परेका छन् । यहाँ हामीले सर्वाधिक विवादमा परेका केही गीतबारे खोतल्ने प्रयास गरेका छौं । अब जान्नुहोस् ती तीजगीत कुन्–कुन् हुन् र कस्ता छन् ?

१. दुर्गेश थापाको ‘ख्यास्स पुतली’

दुर्गेश थापाले केहीदिनअघि सार्वजनिक गरेको तीजगीत ‘ख्यास्स पुतली’ अहिले विवादमा परेको छ । त्यसो त दुर्गेश धेरै विवादमा पर्ने कलाकार पनि हुन् । उनका प्रायः गीतमा उश्रृंखल शब्दहरु प्रयोग भएको पाइन्छ । यसअघि तिहारमा पनि उनी विवादमा तानिएका थिए । उनी ‘ह्याप्पी तिहार’ बोलको गीतबाट विवादमा आएपछि उक्त गीत युट्युबबाट हटाइएको थियो । सामाजिक सद्भाव भड्काएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको थियो । थापा प्रहरी हिरासतमै रहेका बेला उनको विवादित गीत हटाइएको थियो ।

अहिले ‘बिच्च बिच्चमा ४– ख्यास्स पुतली’लाई लिएर सांगीतिक क्षेत्रमा आलोचना भइरहेको छ । सो गीतले तीजको मर्ममाथी प्रहार गरेको गुनासो धेरैको छ । दर्शक–स्रोताहरुले पनि यस्ता गीतले तीजको संस्कृतिमाथि प्रहार गरेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा दुर्गेशको यो गीतमाथि प्रतिवन्ध लगाउनुपर्ने मागसमेत गरिएको छ । गायक दुर्गेशले सो गीत ल्याउने तयारी गरेको जानकारी पाएपछि ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ले साउन ७ गते दुर्गेशलाई ध्यानाकर्षण गराएको थियो । तर, दुर्गेशले प्रतिष्ठानको पत्रलाई वेवास्ता गर्दै गीत सार्वजनिक गरेका थिए । त्यसपछि गत आइतबार बसेको केन्द्रीय समितिको बैठकले दुर्गेशलाई प्रतिष्ठानको साधारण सदस्यबाटसमेत निष्काशनगरी आगामी दिनमा प्रतिष्ठानका हरेक निकायका उनलाई समभागी नगराउने निर्णय गरेको छ ।

यसअघि पनि गत असारमा विकृतियुक्त र विवादस्पद शब्द राखेर तीजगीत ननिकाल्न प्रतिष्ठानले अनुरोध गरेको थियो । तर, त्यसलाई बेवास्ता गर्दै दुर्गेशले गीत पुनः त्यस्तै गीत निकालेकाले उनलाई संस्थागत बहिस्कार गर्नेलगायतका केही निर्णय गरिएको प्रतिष्ठानका उप–महासचिव एवं विकृति विसंगती न्यूनिकरण विभाग समितिका संयोजक शिव हमालले बताएका छन् । यसअघि दुर्गेशले ल्याएका ‘बिच्च बिच्चमा २ र ३’ दुवै गीतको आलोचना भएको छ ।

२. सोफियाको ‘यसपालीको तिज नो व्रत प्लिज’

गायिका सोफिया थापाको ‘यसपालीको तिज नो व्रत प्लिज’ बोलको गीतको पनि चर्काे आलोचना भएको थियो । गीतको बोलमै ‘नो व्रत प्लिज’ भनिएपछि व्रत नबस्न आह्वान गरिएको भन्दै आलोचना भएको थियो । युट्युबमा सार्वजनिक भएलगत्तै यस गीतले चर्को प्रतिक्रिया सामना गर्नुपरेको थियो । गीतका शब्दहरुले तीजको मर्म र हिन्दू महिलाहरुको भावनामा ठेस पु¥याएको टिप्पणी धेरैले गरेका थिए । गीतमा तीजको व्रत नबस्न महिलाहरुलाई आह्वान गरिएको छ । ‘अबको तीजज नो ब्रत प्लिज, नो खुट्टाको पानी‘…रंगीविरंगी चुरा र साडी गहनाको भारी‘, ‘गुडियाजस्तै सजिएर नखाने दर हामी’जस्ता शब्द गीतमा प्रयोग भएका छन् ।

३. कोमल वलीको ‘पोइला जान पाम’

झण्डै एक दशकअघि गायिका कोमल वलीको ‘पोइला जान पाम’ गीत पनि विवादमा परेको थियो । वलीले गितमा पोइ शब्द प्रयोग गरेको भन्दै दर्शक तथा स्रोताहरुले आलोचना गरेका थिए ।

४. प्रीति र ज्योतिको ‘गिलास ठोक्काउनी’

प्रीति आले र ज्योति मगरको ‘गिलास ठोक्काउनी’ गीत पनि विवादमा परेको थियो । केटाहरूको जस्तो जाँड पार्टी गरेर मनोरञ्जन गर्ने भद्दा तरिका देखाएको भन्दै दर्शक स्रोताहरुले आलोचना गरेका थिए । नारायण जोशीले लेख्नुभएको यो समाचार नेपाली नेटवर्कबाट साभार गरिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार