स्वास्थ्य राज्यमन्त्री नियुक्तिसँगै खोपमा प्रगति

हिजो १६,२५८ जनाको स्वाब परीक्षण गर्दा ४,१०७ मा कोरोना संक्रमण पुष्टि भयो । त्यो संक्रमण संख्या भनेको २५ प्रतिशत हाराहारी हो । यसले कोरोना संक्रमणको अर्को लहर बढ्ने जोखिमको अवस्था देखाइसकेको छ ।

चाडपर्व आउँदै गर्दा देखिएको संक्रमण दरले फेरि पनि झस्काएको छ । सरकारले प्रत्येक पालिकामा एन्टिजेन परीक्षणको व्यवस्था मिलाए पनि एक संक्रमित बराबर तीन जनाको मात्र परीक्षण भएको छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिको त परै जाओस्, सम्बन्धित परिवारले समेत स्वाब परीक्षण गराएका छैनन् । परीक्षणको दायरा बढ्न नसक्नु चिन्ताको विषय हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर ह्वात्तै बढेको बताए । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा आज बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता पौडेलले भने, “अब स्वास्थ्य मापदण्डको पालना, उपचार र रोकथामका लागि सामूहिक प्रयासको आवश्यकता छ । सबै क्षेत्रले अपनत्व नलिएसम्म जोखिम कायमै छ ।”

डा पौडेलका अनुसार स्वास्थ्य मन्त्रालयले खोपलाई विशेष प्राथमिकता दिएको छ । खासगरी स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठको आएपछि खोपमा धेरै प्रगति भएको छ । राज्यमन्त्री श्रेष्ठको ठूलो प्रयासपछि ९७ लाख डोज खोप आइसकेको छ । असोजसम्म २ करोड डोज खोप ल्याउने निश्चित भएको छ । खोप ल्याउनुका साथै खोप केन्द्रको संख्या बढाउने सरकारको सोच छ ।

चैतसम्म ५ करोड २२ लाख डोज खोप आउने घोषणा राज्यमन्त्री श्रेष्ठले गरिसकेका छन् । केही दिनमै चीनबाट ६० लाख डोज भेरोसिल आउँदै छ भने भारतबाट १० लाख कोभिशिल्ड । चीनबाट थप १६, जापान १६ लाख, भुटानबाट ३ लाख डोज खोप आउँदै छ । नेपाल–भारत अधिकांश प्रवेश बिन्दुमा हेल्थ डेस्क राखिसकेको छ । १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि ध्यानमा राखी कार्ययोजना बनाएको छ । मन्त्रालयले जनशक्ति र पूर्वाधार थप्ने कार्य पनि सुचारु गरेको छ । अक्सिजन प्लान्टको स्थापना, जनशक्ति नहोस् भनी करारमा भए पनि राख्ने व्यवस्था मिलाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १९ अस्पतालमा ठूला अस्पतालमा अक्सिजन प्लान्ट जोडिएका छन् । ५ हजार ५ सय अक्सिजन कन्सन्ट्रेटर बाँडिएको छ । ३ हजार ५ वटा थपिएको छ । आईसीयु बेड १४ सय पुर्याइएको छ भने ११ सय थप्ने तयारी छ ।

“दोस्रो लहरको भोगाइबाट पर्याप्त पाठ सिकेका छौं, स्वास्थ्य मन्त्रालय निदाएको छैन,” प्रवक्ता डा पौडेलले भने, “जनशक्ति र पूर्वाधार बढाएका छौं । आइसोलेसन, क्वारेन्टाइन र कन्ट्याक्ट ट्रेसिङलाई ध्यान दिएका छौं । ७७ जिल्लामै ‘म माक्स लगाउँछु, आफू पनि बच्छु, अरुलाई पनि बँचाउँछु’ अभियान थाल्दै छौं ।”-रिपोर्टर्सनेपाल डटकमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार