एमालेमा निर्णायक कित्ताकाट हुँदै, भीम रावलसहित यी नेता कता ?

नेकपा एमाले विभाजनको संघारमा पुगेपछि निर्णायक कित्ताकाट हुनलागेको छ । यसअघि एकता बचाउन सक्रिय भएका उपाध्यक्ष बामदेव गौतम अध्यक्ष केपी शर्मा ओलीसँगै बढ्न नसकिने निष्कर्षमा पुगेका छन् । उनले सोमबार स्थायी कमिटी बैठकबाट निस्किएर आफू पक्षीय नेताहरुलाई सम्भावित पार्टी विभाजनका लागि तयार रहन निर्देशन दिइसकेका छन् ।

गौतमले बैठकमै ओलीको चर्को आलोचना गरी कारबाही हुनुपर्ने सम्म भने । त्यसपछि दुवैबीच चर्काचर्की भयो । त्यहाँबाट जुरुक्क उठेर हिंडेका गौतम अपरान्हको केन्द्रीय कमिटी बैठकमा अनुपस्थित भए । उनले ओली एकताको पक्षमा नभएको निष्कर्ष निकाल्दै फरक तरिकाले जानुको विकल्प नभएको भन्दै निकटस्थसँग छलफल बढाएका छन् ।

यसैगरी, एकताका लागि मध्यमार्गी भूमिका निभाउँदै आएका उपाध्यक्ष भीम रावल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पनि निराश भएका छन् । भुसालले ओली आफ्नै ढंगले बढेकाले सँगै जान नसकिने बताइसकेका छन् ।

विगतमा माधवकुमार नेपाल पक्षमा रहेर मध्यमार्गी बनेका रावलसहित ६ जना नेताले पनि चाँडै कित्ताकाट गर्ने भएका छन् । भुसाल ओलीसँग नजाने निश्चित प्रायः भएको छ । रावलसहित बाँकी नेताहरुबारे भने अन्यौल छ । योगेश भट्टराई ओली पक्षमै लाग्ने देखिएको छ । भीम रावल पनि ओलीसँग नजिकिएका छन् । तर, उनी स्थायी कमिटी बैठकमा सहभागी भएनन् ।

ओलीले एमसीसी संशोधन गरेर मात्र पास गर्नुपर्ने बताएबाट रावल उत्साही भएका छन् । उनी ओलीसँगै नजिकिने सम्भावना बढेको छ । तर, ओली पक्षको स्थायी कमिटी बैठकमा सहभागी नभएकाले परिस्थिति फरक हुन सक्ने आँकलन गरिएको छ । तर, रावलले ओली पक्षमा महत्वपूर्ण जिम्मेवारी पाउने भएकाले उतै जान सक्छन् ।

सुरेन्द्र पाण्डे पनि नयाँ दलमा जाने मुडमा देखिएका छैनन् । उनी नेपाल पक्षको बैठकमा पनि सहभागी भएनन् । तर, कोभिड १९ को कन्ट्याक्ट टेष्टमा रहेकाले नगएको भने । नेपाल खेमाबाट एमालेको नवौं महाधिवेशनमा महासचिवको निर्वाचन लडेका पाण्डे अलमलमा छन् ।

गोकर्ण बिष्ट र भीम आचार्य पनि विभाजनको पक्षमा छैनन् । बिष्टले देउवालाई विश्वासको मत पनि दिएनन् । आचार्यले माधव नेपाललाई कुनै हालतमा पार्टी विभाजन गर्न नहुने भनेका थिए । यसकारण उनीहरु नेपालले विभाजनको कदम चालेमा गइहाल्ने सम्भावना कमजोर छ ।

माधव नेपाललाई छाड्दा पनि राजनीतिक जीवन नै धरापमा पर्ने र सँगै जाँदा पनि समस्यामा पर्ने भएकाले रावलसहित ६ नेता धर्मसंकटमा छन् । एमाले विभाजन हुने निश्चितप्रायः भएपछि नेताहरु कुनै न कुनै कित्तामा जानुपर्ने वाध्यतामा परिसकेका छन् । ओली र नेपाल दुवैको कदमले उनीहरु दबाबमा परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार