सोलुखुम्बु। सोलुखुम्बुको सोताङमा झुटो विवरण पेश गरेर बेजिल्लाका नागरिकलाई नागरिकता बनाउने कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरिएको छ । सिन्धुलीका एक व्यक्तिले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट नागरिकता लिएको तथ्य बाहिर आएको हो ।
२०४८ सालमा सिन्धुलीमा जन्मेका सरोज तामाङले सोताङ गाउँपालिका–४ वडा कार्यालयमा जन्म दर्ता गराई स्थानीय शुक्र तामाङलाई दाई भनेर सनाखत गरी झुटो विवरण पेश गरेर नागरिकता लिएको खुलेको छ ।
झुटो विवरण देखाएर नागरिकता लिएको उजुरीको आधारमा नागरिकता लिने सरोज तामाङ र दिलाउन दाईको भूमिका निर्वाह गर्ने शुक्र तामाङ, नागरिकता प्राप्तीका लागि साक्षी बस्ने सोताङ–४ का सुदिप राई, टिकाराम राई र सुर्यबहादुर राईलाई समेत पक्राउ गरिएको छ ।
स्रोतका अनुसार गत साउन २० मा सोताङ गाउँपालिका–४ मा जन्म दर्ता गराइएको हो । नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष रामकुमार राईले झुटो विवरणको आधारमा सिफारिस गरेको खुलासा भएको छ । वडाको सिफारिसमा साउन २४ मा जिल्ला प्रशासन कार्यालय सल्लेरीबाट ११–०१–७८००३५५ नम्बरको नागरिकता लिइएको हो ।
पक्राउ परेकालाई अनुसन्धान भइरहेको जनाइएको छ भने नागरिकताका लागि झुटो विवरण सिफारिस गर्ने वडाध्यक्ष र वडा सचिवलाई पनि जिल्ला झिकाइएको प्रशासन स्रोतले जनाएको छ । सिन्धुलीका व्यक्तिलाई नागरिकता दिलाउने घटनामा जनप्रतिनिधि र कर्मचारी आर्थिक प्रलोभनमा परेको स्थानीयले आशंका गरेका छन् ।