एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी र संसदीय दलको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को स्थायी कमिटी र संसदीय दलको आकस्मिक बैठक आज बस्दै छ । संसद् अधिवेशन अन्त्य गरिएपछि विकसित राजनीतिक परिस्थितिका कारण एमालेले दुवै बैठक बोलाएको हो ।

स्थायी कमिटी बैठक बिहान ११ बजे बोलाइएको छ । त्यो बैठक सकिएलगत्तै संसदीय दलको बैठक बस्नेछ । दुवै बैठक बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने जानकारी दिइएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार आजको बैठकमा माधवकुमार नेपालपक्षलाई पनि बोलाइएको छ ।

सोमबार संसद अधिवेशन अन्त्य भएसँगै माधव नेपाल पक्षलाई अलग्याउने गरी पार्टी फुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याउन सक्ने आशंकाले एमालेभित्र तरंग पैदा भएको छ । यस्तो अवस्थामा एकताका लागि एक हुन नेता कार्यकर्तालाई अपिल गर्दै ओलीले बैठक बोलाउनुभएको हो ।

ओलीले गएराति ५ बुँदे वक्तव्य जारी गर्दै पार्टी फुटाउने षड्यन्त्र मान्य र क्षम्य नहुने बताउनुभएको छ । संसद अधिवेशन हठात अन्त्य गर्ने र अध्यादेशमार्फत दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजन गर्न खोजेको भन्दै आपत्तिसमेत प्रकट गर्नुभएको छ ।

अध्यक्ष ओलीले विधान संशोधनका लागि सबैलाई सुझाव पठाउन आग्रह गरिएको उल्लेख गर्दै राष्ट्रिय राजनीतिको नेतृत्वदायी भूमिकामा पार्टीलाई पुनस्र्थापित गर्न आग्रह पनि गर्नुभएको छ ।-नेपाली नेटवर्कबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार