व्यक्तिकै पहलमा ५० घरले पाए सोलार हिटर सिस्टम

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–४ चिवाङ र सुर्केका ५० घरधुरीलाई सोलार हिटर सिस्टमको सेट सहयोग प्रदान गरिएको छ । चिसो सिजनमा पानी जम्ने त्यस क्षेत्रमा सोलार सिस्टमबाट पानी तताउनका लागि वितरण गरिएको हो ।

स्थानीय समाजसेवी तथा इबीसी ट्रेक्स एण्ड एक्सपिडिसनका प्रमुख ठिले लामा शेर्पाको पहल तथा अमेरिकन नागरिक जेनाथन केइपर र क्रिष्टी इलियट केइपरको आर्थिक सहयोगमा करिब ३५ लाख रुपियाँ बराबरको सामग्रीहरु हस्तान्तरण गरिएको स्थानीय शिक्षिका गीता कार्कीले जानकारी दिनुभयो ।

सोलार सिस्टम वितरण गर्दै शेर्पाले चिसो ठाउँमा महिला तथा बालबालिकाहरुलाई चिसो पानीका कारण स्वास्थ्यमा समेत समास्या पर्ने भएकाले तातोपानीको व्यवस्थाका लागि सोलार हिटर वितरण गरेको बताउनुभयो । यसअघि पनि गाउँमा धेरै सहयोग गर्दै आएको बताउने शेर्पाले आगामी दिनमा पनि गाउँको विकास र स्थानीयको अवस्था उकास्न आफू लागिरहने जानकारी दिनुभयो ।

सोलार पाएपछि स्थानीय ६५ वर्षिया मैना विकले खुशी हुँदै भन्नुभयो, बुढेसकालमा चिसो पानी चलाउन कठिन भएको अवस्थामा तातोपानी तताउने मेशिन पाउँदा धेरै खुशी लागेको छ । अब धेरै सहज हुने उहाँको भनाइ छ । त्यस्तै, अर्का स्थानीय जाङ्बु शेर्पाले पनि हिउँदयाममा तातोपानीबाट सरसफाई गर्न पाउँदा खुशी लागेको बताउँदै सहयोगीलाई धन्यबाद दिनुभयो ।

कोभिड १९ को महामारीलाई लक्षित गरी कोभिड प्रभावित स्थानीयलाई खाद्यान्न सामाग्री समेत प्रदान गर्नु भएका शेर्पाले यसअघि आधुनिक फलामे चुलो, स्वच्छ खानेपानीका लागि सुरक्षित ट्याङ्की निर्माण तथा पाइप उपलब्ध गराउनु भएको छ ।

शेर्पाले स्थानीय चिवाङ आधारभूत विद्यालयलाई पनि बिजुली, विद्यार्थीका लागि पोशाक, कम्प्युटर, प्रिन्टर, भवन मर्मत, खेल मैदान निर्माणका लागि सहयोग गरिसक्नुभएको विद्यालयले जनाएको छ । सहयोगको पहल गर्ने शेर्पा र सहयोग गर्ने अमेरिकन नागरिकहरुलाई चिवाङ र सुर्केका स्थानीयले धन्यवाद दिएकाछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार