काँग्रेस सदस्यता विवाद टुङ्गियो

नेपाली काँगेसले लामो समयदेखि थाती रहेको क्रियाशील सदस्यताको विवादको अन्तिम टुङ्गो लगाएको छ ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सोमबार बसेको शीर्ष नेताहरू सम्मिलित बैठकले सहमतिमै क्रियाशील सदस्यताको विवाद किनारा लगाएको हो ।

विवाद समाधान भएसँगै क्रियाशील छानबिनको अन्तिम किनारा लगाउन पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित समितिले सोमबार राति १० बजेतिर सहमतिको प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाएको छ । समितिका तर्फबाट नेता सिटौलाले शीर्ष नेताद्वयलाई प्रतिवेदन बुझाउनुभएको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले क्रियाशील सदस्यता विवाद समाधान भएपछि पार्टी अब पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै महाधिवेशनमा जुट्ने जानकारी दिनुभयो । उहाँले क्रियाशील सदस्यताको सबै प्रिन्ट भइसकेकाले समस्या नहुने र थप भएको केही विवरण सचिवालयले मिलाउने बताउनुभयो ।

उहाँले मतदाता सामग्री हिमाली र दुर्गम पहाडी जिल्लामा हेलिकप्टरबाट ढुवानी गरिने तयारी रहेको बताउनुभयो । अब महाधिवेशन हुँदैन कि भन्ने अन्योल पनि समाप्त भएको छ ।
सिटौला संयोजक तथा केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको कार्यदल एक साताको अवधिमा धनुषा, सर्लाही, बारा, सप्तरी, रसुवा र सिन्धुपाल्चोक जिल्लाको थाती रहेको विवादमा सहमति जुटाउन सफल भएपछि क्रियाशील सदस्यताको विवादले निकास पाएको हो ।

गत फागुनदेखि सुरु भएको क्रियाशील सदस्यताको छानबिन कार्यले सोमबारबाट अन्तिम रूप लिएको छ । यसअघि केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित कार्यदलले साउन १२ गते क्रियाशील सदस्यताको प्रतिवेदन सभापति देउवालाई हस्तान्तरण गरेको थियो तर सो प्रतिवेदनले केही जिल्लाको विवाद समाधान गर्न बाँकी थियो ।

सभापति देउवालाई प्रतिवेदन बुझाउनुअघि कार्यदलका सदस्य र पार्टीका शीर्ष नेताहरूबीच बूढानीलकण्ठमा लामो छलफल भएको थियो । सभापति देउवा, वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिटौला, डा. रिजाल, लेखकलगायतका नेताहरूको बैठकले अन्तिम समयमा सहमति जुटाएको हो ।

वडा अधिवेशन निर्धारित समयमै
अन्य राजनीतिक दलबाट काँग्रेसमा प्रवेश गरेका व्यक्तिका लागि न्यूनतम मापदण्डका आधारमा क्रियाशील सदस्यता दिइने सहमति नेताहरूले गरेका छन् । क्रियाशील सदस्यताको विवाद मिलेसँगै अब पार्टीले यसअघि तय गरेको गाउँपालिका तथा नगरपालिकाको वडा अधिवेशन निर्धारित समयमै हुने भएको छ ।

महाधिवेशनको कार्यतालिका प्रभावित नहुने र नेताहरूबीच यसमा सहमति भएको जानकारी मुख्य सचिव पौडेलले दिनुभयो । अब सभापति शेरबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यताको अन्तिम सूची पार्टीको निर्वाचन समितिलाई बुझाएपछि समितिले महाधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउनेछ ।

एक दुई दिनमै अब यी काम पूरा हुने जानकारी नेताहरूले दिएका छन् । वडा अधिवेशन भदौ १८ गते गर्ने निधो काँग्रेसले गरेको छ । यसका साथै आगामी मङ्सिर ९ देखि १३ सम्म पार्टीको १४ औँ महाधिवेशन काठमाडौँमा गर्ने निर्णय काँग्रेसले यसअघि गरिसकेको छ।गोरखापत्र दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार