काँग्रेस सोलुखुम्बुले माग्यो ७० जना शिक्षक

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनका सन्दर्भमा जिल्लाभित्रका विभिन्न तहको अधिवेशन सम्पन्न गर्न नेपाली काङ्ग्रेस सोलुखुम्बुले ७० जना शिक्षक माग गरेको छ।

कांग्रेस सोलुखुम्बुले नेपाल शिक्षक संघलाई पत्र मार्फत सहयोग माग्दै जिल्ला कार्य समिति सोलुखुम्बुले वडा, पालिका, प्रदेश क्षेत्र अधिवेशन र जिल्ला अधिवेशन सम्पन्न गर्न शुभेच्छुक संस्था शिक्षक संघबाट ७० जना शिक्षक केन्द्रीय निर्वाचन समितिबाट खटिई आएको जिल्ला निर्वाचन प्रतिनिधिलाई नामावली बुझाउने गरी तयारी अवस्थामा राख्न आग्रह गरेको हो ।

कांग्रेसको अधिवेशनका लागि शुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन र नेपाल शिक्षक संघबाट निर्वाचन गराउने जनशक्ति व्यवस्थापन गर्ने व्यवस्था छ।

यही भदौ १८ गते वडा, २७ गते पालिका, असोज १ गते प्रदेश र ५ गते जिल्ला अधिवेशन गर्ने नेपाली काङ्ग्रेसको तालिका छ। नेपाली कांग्रेसको अधिवेशन पटक पटक सर्दै आएको थियो।

यसैबिच नेपाली काँग्रेसको क्रियाशील सदस्यताको विषयलाई लिएर काँग्रेस जिल्ला सभापतिहरु आन्दोलित भएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा काँग्रेसका जिल्ला सभापतिहरु धर्ना बसेका छन् । क्रियाशील सदस्यता सार्वजनिक हुनुपर्ने भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

नुवाकोट सभापति जगदिश्वर नरसिंह केसी, दैलेख सभापति कृष्णकुमार विसी, कार्भे सभापति मधु आचार्यलगायतका जिल्ला सभापतिहरु धर्नामा बसेका हुन् ।

काँग्रेसको १४ औं महाधिवेशनका लागि करिब ९ लाख क्रियाशील सदस्य पुगेका छन् । लामो रस्साकस्सीपछि सोमबार क्रियाशील सदस्यताको विषय टुंग्याइएको थियो ।

क्रियाशील सदस्यताबारेको प्रतिवेदन सोमबार पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको छ । क्रियाशील सदस्यताकै विषयमा सहमति नहुँदा पाँच पटकसम्म काँग्रेसको महाधिवेशनको मिति तोकेर सारिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार