सोमबारसम्म वर्षा नरोकिने, उच्च सतर्कता अपनाउन मौसमविद्को सल्लाह

सामान्य अवस्था हुँदो हो त यतिबेला शरदीय मौसम हुन्थ्यो । खेतमा धानका बाला झुलेका हुन्थे । तर, बेमौसमको झरीले देशभरको जनजीवन कष्टकर बन्दै गएको छ ।

मौसम पुर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म भारी वर्षा रहने जनाएको छ । वैशाखयता बाढी पहिरोबाट ८६ को मृत्यु , ३९ जना बेपत्ता भएका छन् भने अरबौंको धनमाल नास भएको छ ।

मनसुन न्यूनचापीय रेखा तराईको भू–भागमा पर्दा गत बुधबारदेखि देशभर भारी वर्षाले अधिकांश जिल्लाका स्थान डुबानमा पर्न थालेको हो ।

वर्षाकै कारण सप्तकोशीमा पानीको बहाव उच्च भएसँगै भारतले कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालेर स्थानीय प्रशासनले कोसी आसपासका क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरिसकेको छ ।

अविरल वर्षाका कारण नवलपरासी, रुपन्देही, कपिलवस्तुलगायत विभिन्न स्थान डुबान परेको छ । मुलुकका राष्ट्रिय राजमार्ग बाढी पहिरोले प्रभावित छन् । पूर्वपश्चिम, बीपी, पुष्पलाल, मदन भण्डारी राजमार्गको खण्ड खण्डमा अवरोध हुँदा सवारी आवागमन प्रभावित भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश एक, दुई, तीन प्रदेश निरन्तर वर्षाबाट प्रभावित छन् । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर अहिलेको अवस्थामा सोमबारसम्म भारी वर्षा हुने सम्भावना रहेको र त्यसलगत्तै वर्षा केही कम हुने बताउनुहुन्छ ।

मनसुनको सक्रियताले बाढी, पहिरोको जोखिम हुँदा वर्षेनी जनधनको क्षतिको भागिदार बन्नुपरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ देखिको अविरल बर्षा, बाढी, पहिरोले हालसम्म ५ सय ४२ घटनामध्ये ८६ जनाको मृत्यु भइसकेको छ भने ३९ जना बेपत्ता छन् ।

बाढी पहिरोमा परी १ सय २ जना घाइते भएका छन् । प्राधिकरणले अविरल बर्षा, बाढी, पहिरोका कारण अरबौंको क्षति भएको जनाएको छ ।

मनसुन अझै सक्रिय रहेको अवस्थामा सम्भावित जोखिमलाई ख्याल गरी धनजनको क्षति रोक्न बेलैमा उपाय अपनाउन जरुरी छ ।-imagekhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार