नयाँ क्रियाशील सदस्य बनेकाहरू कांग्रेसका कुन-कुन पदमा उठ्न पाउँछन्?

नयाँ नेपाली कांग्रेसको क्रियाशील सदस्य बनेकाहरूले पार्टीका विभिन्न तहमा उम्मेदवारी दिन पाउने भएका छन्।

कांग्रेसले क्रियाशील सदस्य लिएको निश्चित वर्ष पुगेपछि मात्रै विभिन्न पदमा उठ्न पाउने विधान बनाए पनि १५ औं महाधिवेशनका लागि ती विधानका व्यवस्था निलम्बन गरिएका छन्।

२०७७ फागुन ६ र २०७८ साउन ३० गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यको अवधि सम्बन्धी विधानको व्यवस्था बाधा अड्काउ फुकाउबाट निलम्बन गरिएका छन्।

अब कांग्रेसका तल्ला तहका अधिवेशनमा सभापति, पदाधिकारी, सदस्य र माथिल्लो तहमा प्रतिनिधि आउनका लागि उम्मेदवार बन्न विधानले छेक्दैन।

पार्टीका विभिन्न पदमा उम्मेदवार हुन निरन्तर क्रियाशील सदस्य भएको अवधि हुनुपर्ने विधानमा व्यवस्था भए पनि तल्ला तहका लागि त्यो व्यवस्था निलम्बन भएका छन्।

तर पार्टीको केन्द्रीय सभापति, कार्यसमितिका पदाधिकारी, सदस्य, प्रदेश सभापति, प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय सभापति, महानगर सभापति, उपमहानगर सभापतिका लागि विधानको व्यवस्था निलम्बन गरिएको छैन।

कांग्रेसको केन्द्रीय सभापति हुन क्रियाशील लिएको कम्तिमा १५ वर्ष भएको र महाधिवशेन प्रतिनिधिबाट निर्वाचित हुनुपर्छ।

प्रदेश सभापति हुन पनि निरन्तर १५ वर्षदेखि क्रियाशील सदस्य भएको हुनुपर्छ भने जिल्ला सभापति हुन निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको व्यक्ति योग्य हुने विधानमा उल्लेख छ।

कांग्रेसको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति सभापति बन्न क्रियाशील सदस्यता प्राप्त गरेको चार वर्ष पुगेको हुनुपर्छ।

यदी विधानको व्यवस्था निलम्बन नभएको भए वडाका कुनै पदमा उम्मेदवारी दिन क्रियाशील सदस्य भएको एक वर्ष पूरा भएको हुनुपर्ने अनिवार्य व्यवस्था थियो।

वडामा सभापति, २ उपसभापति, २ सहसचिव र ३ महिलासहित ९ जना सदस्य प्रत्यक्ष निर्वाचनबाट आउँछन् कोषाध्यक्ष मनोनित छ। यस्तै समावेशीबाट सदस्यहरू र वडा कार्यसमितिको २० प्रतिशत संख्या सभापतिले सदस्यमा मनोनित गर्न पाउँछन्। यी पदमा उठ्न र मनोनित हुन अब विधानको व्यवस्थाले छेक्दैन।

गाउँपालिकाको वडाबाट क्षेत्रीय प्रतिनिधि पनि चयन हुन्छन्। त्यसका लागि पनि विधानमा क्रियाशील लिएको एक वर्ष पुगेकाले पाउने भन्ने रहेकोमा त्यो निलम्बन गरिएको छ। यसैपालि क्रियाशील लिएकाहरू पनि क्षेत्रीय प्रतिनिधि हुन पाउँछन्।

विधानले गाउँपालिका र नगरपालिकामा सम्बन्धित पालिकाभित्रका सबै क्रियाशील सदस्य मतदाता हुने विधानको व्यवस्था पनि निलम्बन गर्दै वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता बनाएको छ।

प्रदेश सभा क्षेत्रीय अधिवेशनका लागि क्रियाशील लिएको २ वर्ष पुगेकाले मात्रै उम्मेदवारी दिन पाउने व्यवस्था रहेकोमा त्यो पनि निलम्बन गरिएको छ। प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट प्रदेश अधिवेशनमा जाने प्रतिनिधि हुन चुनाव लड्न पनि यसैपालि क्रियाशील सदस्य बनेकोले पाउँछन्। विधानअनुसार प्रतिनिधि हुन क्रियाशील लिएको ३ वर्ष पुगेको हुनुपर्ने थियो त्यो व्यवस्था अहिले निलम्बन गरिएको छ।

प्रदेश सभा क्षेत्रीय कार्यसमिति सभापति, उपसभापति २, सचिव २ र सहसचिव २ पदमा उठ्न र सदस्यहरूमा उठ्न पनि क्रियाशील लिएको ३ वर्ष पुगेको हुनुपर्ने व्यवस्था निलम्बन गरिएका छन्।

विधानको धारा ११ को २ को (क) पनि निलम्बन गरिएको छ। त्यसमा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि उठ्नका लागि क्रियाशील लिएको चार वर्ष पुगेको हुनुपर्ने व्यवस्था थियो त्यो पनि निलम्बन गरिएको छ। यसैपालि क्रियाशील लिएकाहरू पनि महाधिवेशन प्रतिनिधि आउन उम्मेदवार बन्न पाउँछन्।

कांग्रेसमा १४ औं महाधिवेशनका लागि ९ लाख क्रियाशील सदस्य छन्। उनीहरूमध्ये विदेशस्थित जनसम्पर्क समितिबाट करिब ४८ जना जना क्रियाशील सदस्य छन्। कांग्रेसले भदौ १८ मा वडा अधिवेशन गर्ने भनेको छ।

केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ। source-setopati.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार