सोलुखुम्बु । नेपाली काँग्रेसको १४ औँ महाधिवेसनका सन्दर्भमा हुने वडा अधिवेसनका लागि सबै वडामा निर्वाचन अधिकृत खटाइएको छ ।
सोलुखुम्बुका लागि खटिई आउनुभएका जिल्ला निर्वाचन अधिकृत कैलाश गुरुङले आवश्यक सामग्रीहरू सहित ५२ वटै वडामा नेपाल शिक्षक संघका शिक्षकहरूलाई पठाएको अधिकृत गुरुङले जानकारी दिनुभयो।
सदरमुकाम सल्लेरीमा काँग्रेस नेताहरु सहितको उपस्थितिमा अभिमुखीकरण गरेर शिक्षकहरुलाई सम्बन्धित वडामा पठाइ हो। जिल्लाका ५२ वटै वडाको अधिवेसन २२ गते मंगलबार गर्ने निर्णय भएको थियो।
नेपाली काँग्रेसले पार्टीको सबै तहका अधिवेसनका निर्वाचन गराउनका लागि नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन, नेपाल शिक्षक संघ लगायतका सुभेच्छुक संस्थासंग सहयोग लिने गरेको छ ।
अभिमुखीकरण कार्यक्रममा सोलु कांग्रेस सभापति विनोद बस्नेत, पुर्व सभापति आङगेलु शेर्पा र प्रदेश सभा क क्षेत्रका उम्मेदवार प्रकाश सिंह कार्कीले निष्पक्ष निर्वाचन गराउन आग्रह गरेका छन्।
काँग्रेसले १४ औँ महाधिवेशन अन्तर्गत गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ ।
यसैगरी काँग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।