सोलु काँग्रेसमा युवा आकर्षण : २१ बर्षिया पूजा पहिलो मतले क्षेत्रीय प्रतिनिधि विजयी


सोलुखुम्बु । नेपाली काँग्रेसको जारी १४ औँ महाअधिवेशनका सन्दर्भमा भएको वडा अधिवेसनमा हिमाली जिल्ला सोलुखुम्बुमा पनि धेरै युवाहरु नेतृत्वमा चयन भएका छन् । ‘काँग्रेस बुढापाकाको पार्टी’ भन्ने मान्यतालाई चिर्दै वडा अधिवेशनबाट सभापति तथा क्षेत्रीय प्रतिनिधिमा युवाहरु चयन भएका हुन् ।

वडा यसै क्रममा अधिवेशनबाट सोलुखुम्बुमै कम उमेरकी पूजा फुयाल खुला महिला प्रतिनिधिमा विजयी हुनुभएको छ । जिल्लाको नेचासल्यान गाउँपालिका–३ मा भएको निर्वाचनबाट सबै भन्दा धेरै मत ल्याएर प्रतिष्पर्धी सबैलाई उछिन्दै २१ बर्षको उमेरमा क्षेत्रीय प्रतिनिधिमा विजयी हुनु भएको हो ।

२६३ मत खसेकोमा पुजालाई सबै भन्दा धेरै अर्थात २०२ मत प्राप्त भएको छ । सोही वडाबाट काँग्रेस केन्द्रिय सदस्य बलबहादुर केसीकी सहोदर बहिनी सरस्वती केसी भण्डारी ८९ मत मात्र प्राप्त गरेर पराजित हुनुभयो । उहाँसँगै खुला महिलाको ५ सिटका लागि प्रतिष्पर्धामा रहेकी काँग्रेसबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कुमारीदेवी शर्माले १४० मत मात्र प्राप्त गरेर क्षेत्रीय प्रतिनिधि हुनुभएको छ ।

नौ कक्षामै पढ्दा हिमाल दर्शन मावि नेचाको नेविसंघ ईकाइ सभापति बनेकी पूजा उच्च शिक्षा अध्ययनको क्रममा वि.सं.२०७३ सालमा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियू सदस्यमा निर्वाचित बन्नुभएको थियो । अहिले नेविसंघ सोलुको कोषाध्यक्ष र जिपि कोईराला फाउण्डेशनको जिल्ला सहसचिव फुयाल लगातार पूर्णकालीन राजनीतिमा हुनुहुन्छ । यो पटक धेरै मत ल्याएर जित्दा निकै खुशी भएको उहाँको भनाइ छ ।

‘मैले सहमतिमा मलाई एउटा क्षेत्रीय प्रतिनिधिमा पठाउनुस् भनेर सबै नेता तथा पार्टीका अगुवालाई भने तर वहाँहरुले मलाई अन्य पदमा राख्ने आश्वासन दिएर नपठाउने कुरा गर्नुभयो’ उहाँले भन्नुभयो । ‘चुनवामा गएपछि मलाई ९० प्रतिशत क्रियाशिलले माया गरेर जिताउनुभयो ।’
क्षेत्रीय प्रतिनिधि जितेसँगै राजनीतिमा यूवाहरुको भविष्य प्रति आशा जागेको उहाँको भनाइ छ । काँग्रेसमा ५० कटेकालाई युवा नेता मान्नुपर्ने विवशतालाई यो पुस्ताले तोड्नु पर्ने उहाँले बताउनुभयो ।

हजुरबुबा लिलाराज फुयाँल नेपाली काँग्रेसको तर्फबाट गाविस अध्यक्ष तथा बुवा यादव फुयाँल नेपाल शिक्षक संघको गाउँपालिका अध्यक्ष लगायतको परिवारको राजनीतिक पृष्ठभूमिका कारण उहाँलाई प्रेरणा मिलेको हो ।

५२ वटा वडा रहेको सोलुखुम्बुमा जम्मा तीन वटा वडामा मात्र चुनावी प्रक्रियाबाट नेतृत्व चयन भएको हो । चुनाव भएको नेचासल्यान गाउँपालिका नेपाली काँग्रेसको सबै भन्दा बढी क्रियाशिल सदस्य भएको जिल्लाकै दोस्रो वडा हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार