नगर सभापतिमा शेर्पाको उमेदवारी घोषणा

सोलुखुम्बु । नेपाली काँग्रेसको जारी अधिबेशनमा सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाको सभापतिमा काँग्रेस युवा नेता सोनाम ग्याल्जेन शेर्पाले उम्मेद्वारी घोषणा गर्नुभएको छ।

हिमाल एफ.एम.मा अन्तर्वार्ताको क्रममा नगर कार्यपालिका सदस्य समेत रहनुभएका शेर्पाले भाद्र २७ गते हुने पालिकास्तरीय अधिबेशनको लागि सभापति पदमा उम्मेद्वारी घोषणा गर्नुभएको हो ।

आफु २० बर्ष पुरानो काँग्रेसको क्रियाशिल सदस्य रहेको र पार्टीको हरेक अभियानमा अग्रपङ्क्तिमा रहेर काम गरेको भन्दै शेर्पाले आफुसँग नगरको नेतृत्व गर्ने स्पष्ट दृष्टिकोण र कार्ययोजना रहेको बताउनुभयो ।

पर्यटन व्यवसायसँग र समाज सेवामा समेत संलग्न शेर्पाले नगर सभापतिमा आफुले जितेको खण्डमा कार्यालय ब्यवस्थापनदेखि संगठन निर्माणसम्म स्पष्ट योजना बनाएको भन्दै आगामी निर्वाचनमा ११ वटै वडा र नगर प्रमुख र उपप्रमुख जिताएरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

काँग्रेसमा प्रशिक्षण अभाव भएको भन्दै उनले आफ्नो पहिलो प्राथमिकता टोल टोलमा प्रशिक्षण कार्यक्रम चलाउने र काँग्रेसमा युवा सहभागिता अभिबृद्धि गर्ने योजना सुनाउनुभयो । दुई धार रहेको सोलुखुम्बुको काँग्रेसमा आफु पुर्व पार्टी सभापति आङगेलु शेर्पाको समुहबाट चुनाव लड्ने भन्दै उक्त पदमा जितेको खण्डमा सबैलाई समेटेर लैजाने उहाँको भनाइ छ ।

यता पार्टी केन्द्रिय सदस्य बलबहादुर केसी समुहबाट काँग्रेस नेता फुदोर्जी शेर्पा र मिङमार दोर्जी शेर्पाको दावेदारी रहेको बताइन्छ । वडा नम्बर २ का वडा अध्यक्ष मिङमारदोर्जी शेर्पाले करिब १ महिना अगाडी मात्रै समूह परिर्वतन गर्नुभएको थियो ।

११ वटा वडा रहेको नगरपालिका क्षेत्रलाई काँग्रेस नेता आङगेलु शेर्पाको पक्कड क्षेत्रको रुपमा हेरिने गरिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार