आठ वडा सभापति सहितको समर्थन : शेर्पाको उम्मेदवारी औपचारिक घोषणा(फोटो फिचर )

सोलुखुम्बु । ११ वटा वडा रहेको सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाको पार्टी सभापतिमा ८ जना वडा सभापति सहितको समर्थनमा काँग्रेस नेता सोनामग्याल्जेन शेर्पाले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

शनिबार सदरमुकाम सल्लेरीमा नेपाली काँग्रेस नगर कार्य समितिको आयोजनामा भएको औपचारिक कार्यक्रममा शेर्पाले संस्थापन समूहबाट उम्मेदवारी घोषणा गर्नुभएको हो । पुर्व सभापति आङगेलु शेर्पाको समुहबाट उम्मेदवारी घोषणा गर्नुभएका शेर्पालाई वर्तमान नगर सभापति दावागेलु पाख्रिन, मेयर नाम्गेलजाङ्बु शेर्पा, काँग्रेस नेता तथा बरिष्ठ समाजसेवी निमा शेर्पा सहित भर्खरै वडा अधिबेशनबाट निर्वाचित ८ जना वडा सभापतिहरुले भौतिक रुपमै उपस्थित भएर समर्थनको घोषणा गरेका हुन् ।

नगरपालिकाभित्रका करिब १ सय जना क्षेत्रीय प्रतिनिधि उपस्थित घोषणा सभामा वडा नम्बर १ का सभापति छोङ्बा लामा, ३ नम्बर वडा सभापति कान्छा शेर्पा, ४ नम्बर वडा सभापति रामबहादुर बराईली, ६ नम्बर वडा सभापति फुरी शेर्पा, ७ नम्बर वडा सभापति दोमी शेर्पा, ९ नम्बर वडा सभापति फुर्वा साङगे तामाङ, १० वडा सभापति होमबहादुर मगर र ११ नम्बर वडा सभापति बालकुमार कार्कीले समर्थन सहित शुभकामना दिएका छन् ।

नगर सभापति पाख्रिनको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पुर्व पार्टी सभापति आङगेलु शेर्पाले प्रस्तावित नगर सभापतिको उम्मेदवार राजनीतिमा लामो समयदेखि क्रियाशिल र नगरपालिकाको विकासमा ठूलो योगदान दिएको ब्यक्ति भएको भन्दै नगरपालिकाका क्षेत्रीय प्रतिनिधिहरु विवेकशिल निर्णय गर्न सक्षम रहेको भन्दै शुभकामना दिनुभयो ।

जिल्लाभरबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित नेपाल शिक्षक संघका सदस्यहरुमाथि पार्टी भित्रैबाट षड्यन्त्र भईरहेको भन्दै पार्टीको विधानमै शिक्षक संघलाई माहाधिबेशन प्रतिनिधिको कोटा छुट्याएको भन्दै काँग्रेस सबै पेशा तथा ब्यवशायीहरु मिलेर बनेको पार्टी भएको स्पष्ट पार्नुभयो ।

आम निर्वाचनमा जिताउन मरिमेटेर लाग्ने शिक्षकहरु आफ्नो मताधिकार प्रयोग गर्न क्षेत्रीय प्रतिनिधि बन्दा काँग्रेसकै नेताको उक्साहटमा उजुर गरिनु नेताको द्वैध चरित्र प्रदर्शन भएको स्पष्ट पार्नुभयो । नेता शेर्पाले अब अग्रजहरुलाई संरक्षक बनाएर युवा पुस्ताले पार्टी हाक्नु पर्ने भन्दै युवालाई नेतृत्वमा अगाडी सार्न आफ्नो समूह हरदम क्रियाशिल रहेको उहाँको भनाइ छ ।

यो अधिबेशन काँग्रेसमा आन्तरिक लोकतन्त्र बचाउने र हत्या गर्ने विचको प्रतिस्पर्धा भएको भन्दै जिल्लाभरबाट सक्षम प्रतिनिधि छनौट भएको बताउनुभयो । काँग्रेस युवा नेता तथा प्रदेश सभा ख का क्षेत्रीय सभापतिका उम्मेदवार कर्मा शेर्पाले पार्टीलाई जनजीविकासँग जोड्नुपर्ने आवश्यक्ता औँल्याउदै त्यस्का लागि सक्षम नेतृत्व चयनको आवश्यक रहेको उहाँको धारणा छ ।

सो क्रममा नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पाले आफु निर्वाचित भएपछि नगरपालिकामा जनपक्षिय कामको माध्यमबाट जिल्लाभरका काँग्रेसीको शिर ठाडो पार्ने काम गरेको दाबी गर्दै  पुरातनबादी सोच र चरित्र भएका नेताले मात्रै विरोध गर्ने गरेको  उहाँको आरोप छ ।

नगर सभापति पाख्रिनले सोलुखुम्बुको काँग्रेसमा २०४८ सालदेखि एउटै ब्यक्ति नेतृत्वमा लगातार आउँदा पुस्तान्तरण नभएर सैयौँ तरुण तथा युवाको भविष अन्धकार भएको भन्दै अबको अधिबेशनले पुस्तान्तरणको अर्थपूर्ण सन्देश दिनुपर्ने बताउनुभयो । सभापतिका उम्मेदवार सोनामग्याल्जेन शेर्पाले आफु निर्वाचित भए संगठनलाई चुस्त बनाई काँग्रेसलाई सबै वडामा आगामी निर्वाचनमा विजयी गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयाे ।

कार्यक्रममा पुर्व महाधिबेशन प्रतिनिधि पासाङ शेर्पा, नगर पार्टी सचिव शेरबहादुर बस्नेत, ९ नम्बर वडा अध्यक्ष काजी शेर्पा, नेतृहरु टंकिमाया बस्नेत, गान्धिमाया तामाङ, शारदा तामाङ, राधिका श्रेष्ठ, सरिता राई, डोमा शेर्पा लगायतले सभापति उम्मेदवार सोनामग्याल्जेनलाई समर्थन तथा शुभकामना मन्तव्य दिएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार