प्रतिपक्षी दलका सांसदकाे विरोधपछि प्रतिनिधिसभा बैठक अवरूद्ध

प्रतिनिधिसभा बैठक पन्ध मिनेटका लागि स्थगित भएको छ । निर्धारित समयभन्दा आधा घण्टा ढिलो १ः३० बजे आज शुरुभएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का सांसदहरुले रोष्टम अगाडि नाराबाजी गर्दै विरोध गर्नुभएपछि सभामुख अग्नीप्रसाद सापकोटाले बैठक पन्ध्र मिनेटका लागि स्थगित गर्नुभएको हो ।

सभामुख सापकोटाले जनताको सर्वोच्च जनप्रतिनिधि संस्थालाई मर्यादित बनाउन आग्रह गर्नुभयो । “समन्वय र सहकार्यमा जानैपर्छ, बैठक सहज ढंगले सुचारु गर्न वातावरण बनाइदिन आग्रह गर्दछुँ” सभामुख सपाकोटाले आग्रह गर्नुभयो । वातावरण सहज बनाउनेतिर भूमिका खेल्न उहाँले एमाले सांसदहरुलाई पटक पटक आग्रह गर्नुभयो । “विचारहरु, दृष्टिकोणहरु, धारणाहरु राख्ने वातावरण बनाइदिन सबै सांसदहरुलाई, विशेषगरी प्रमुख प्रतिपक्षी दलका सांसदहरुलाई आग्रह गर्दछुँ” उहाँले भन्नुभयो ।

बैठकमा नियमित अवरोध हुँदा अन्य सांसदहरुको अधिकार संकुचित हुने भन्नुहुँदै सभामुख सापकोटाले बैठक सञ्चालनका लागि आफ्नो स्थानमा आसनग्रहण गरी सहयोग गर्न आग्रह गर्नुभयो । संविधानको धारा १०५ को स्मरण गराउनुहुँदै सभामुख सापकोटाले विरोध अन्त्य गरी बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो ।

सो धारामा “नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरुका सम्बन्धमा न्याय निरुपणमा प्रतिकुल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसदको कुनै सदनमा छलफल गरिने छैन” उल्लेख छ । संसद बैठक सञ्चालनको क्रममा कसैप्रति पक्षपातपूर्ण व्यवहार नगर्ने उहाँले प्रतिवद्धता समेत जनाउनुभयो । संसदीय मर्यादा कायम गर्न र बैठक सञ्चालन गर्न सहयोग गर्न उहाँले आन्दोलनरत सांसदहरुलाई आग्रह गर्नुभयो ।

प्रतिनिधिसभा नियमावली २०७५ कार्यान्वयनबाहेक आफ्नो कुनै उद्देश्य नरहेको सभामुख सापकोटाले बताउनुभयो । वादविवाद छाडेर संवादतिर आउन आग्रह गर्नुहुँदै सभामुख सापकोटाले बैठक सुचारु भएमात्र देश र जनताको पक्षमा वहस गर्न सकिने बताउनुभयो ।

सभामुख सापकोटाको आग्रहलाई वेवास्ता गर्दै एमाले सांसदहरुले रोष्टम अगाडि नाराबाजी जारी राख्नुभयो । ‘संविधान सर्वोच्चता कायम गर, संसदीय मर्यादा कायम गर, कारवाही गरिएका सांसदलाई प्रवेश निषेध गर, पक्षपातपूर्ण व्यवहार बन्द गर’ लगायतका नारा सांसदहरुले लगाउँदै विरोध गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार