नेकपा एस रोज्ने दुई सांसदलाई तत्काल कारबाही नगर्न सर्वोच्चको आदेश

नेकपा एमालेबाट नेकपा एकीकृतको अभिलेखमा आफ्नो नाम अद्यावधिक गर्न सर्वोच्च अदालत पुगेका दुई सांसदलाई तत्काल कुनै कारबाही नगर्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

नेकपा एमालेका दुई सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एकीकृत समावादीमा आफू रहेको र सोही पार्टीमा सनाखत गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।

आइतबार न्यायाधीश मीरा खड्काको एकल इजलासले भदौ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिँदै त्यतिन्जेल उहाँहरुमाथि कुनै कारबाही नगर्न आदेश दिएको हो ।

‘अन्तरिक आदेश माग गरेको सम्बन्धमा बिचार गर्दा, दुवै पक्षको उपस्थितिमा छलफल हुने उपयुक्त देखिएकोले भदौ २९ गते अन्तरिम आदेशको छलफलको लागि पेसी तोकी सो दिन उपस्थित हुन विपक्षीहरुलाइ सूचना दिनु र सो मितिसम्म निवेदनहरुलाई प्रतिकूल असर पर्ने गरी कुनै कामकारबाही नगर्नू भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ को २ र ख बमोजिम विपक्षीहरुका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।’ सर्वोच्चद्वारा जारी आदेशमा भनिएको छ । साथै उक्त पेसीका दिन प्रस्तुत विवादसँग सम्बन्धित निर्णय तथा सम्पूर्ण कागजातसहितको सक्कल फायल महान्यायाधिवक्ताको कार्यालय मार्फत झिकाई नियमाअनुसार पेश गर्न भनिएको छ ।

पाण्डे पाल्पा क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुनुहुन्छ भने भट्ट कैलालीबाट राष्ट्रियसभाका निर्वाचित सदस्य हुनुहुन्छ । पाण्डे र भट्टले एमाले छाडेर आफूहरु एकीकृत समाजवादीमा गएकाले निर्वातन आयोग, संसदीय संसद्, सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार