हृदयाघातका लक्षण र रोकथाम

डा. शिवजी सिलवाल/मुटुरोगको रोकथाम तथा नियन्त्रण गर्न सकिने भए पनि यो विश्वव्यापी रूपमा मृत्युको प्रमुख कारण बनिरहेको छ । हरेक देशको स्वास्थ्य सेवाका सुविधाहरू, जनताको जीवनशैली र देशको आर्थिक स्तर फरक–फरक हुने हुँदा मृत्युको कारक पनि फरक–फरक हुने गर्छ । संसारभरि नै मुटुरोग सबैभन्दा ठूलो ज्यानमारा रोग भएको छ । मुटुरोग पछि मस्तिष्कघात, श्वास–प्रश्वासको सङ्क्रमण, झाडापखाला, एचआईभी एड्स, सवारी साधन दुर्घटना र समय अगावै जन्मिनु अन्य मृत्युका कारणहरू हुन् । संसारका ६.४ विलियन जनसङ्ख्यामध्ये हरेक वर्ष करिब ५६ मिलियन जनसङ्ख्या मरिरहेको हुन्छ । हृदयाघात एक जटिल किसिमको आकस्मिक अवस्था हो, जसमा मुटुका रक्तनली अर्थात् धमनीहरू र मुटुमै सामान्यतः रगत जम्ने कारण रक्त सञ्चार बन्द भई सिर्जना हुने गर्छ । मुटुमा आवश्यक रगतको आपूर्ति बन्द हुँदा मुटुका रक्त कोषिकाहरूको क्षति हुने वा तिनीहरू मर्ने कारणले मानिसको अचानक मृत्यु हुने जोखिम आइपर्न सक्छ । हृदयाघातका लक्षणहरूमा– छाती दुख्ने, छाती गह्रुँगो हुने र दुखाई सर्दै छातीबाट सर्दै गएर बङ्गारा, गर्दन, पाखुरा र पिठ्ँयुतिर जाने, स्वाँस्वाँ हुने, कमजोरी अथवा रिँगटा लागेको अनुभव हुने र अत्यधिक मात्रामा बेचैनी हुने आदि पर्छन् ।

यदि कसैलाई दोस्रो पटक हृदयाघात भएको छ भने पहिलो हृदयाघातका जस्तै लक्षण देखा नपर्न पनि सक्छन् । केही मानिसमा कुनै पनि लक्षण नै नदेखिन पनि सक्छ । यसलाई सुशुप्त हृदयाघात भनिन्छ । हृदयाघातको उपचार यसको प्रकृति र गम्भीरतामा निर्भर रहन्छ । हृदयाघातका प्रचलित उपचारहरूमा रगत पातलो पार्ने अर्थात् जमेको रगतलाई पगाल्ने औषधिको प्रयोग (जसलाई थ्रम्बोलाइसिस भनिन्छ), कारडियाक इन्टरभेन्सन् अर्थात् कोरोनरी एन्जियोप्लाष्टि र मुटुको शल्यक्रियाजस्ता प्रक्रिया पर्छन् ।

एन्जियोग्राफी पश्चात् मुटुको ओपन हार्ट सर्जरीजस्ता प्रक्रिया पनि अपनाइन्छन् । यी प्रक्रियामध्ये मुटुका धमनीहरूमा रोकावटका कारण रक्त प्रवाह बन्द भई हुने हृदयाघातको उपचारमा सबैभन्दा प्रचलित प्रक्रिया एन्जियोप्लाष्टि नै हो । उपचारको मुख्य उद्देश्य भन्नु नै बिरामीलाई अकस्मात् हुने मृत्युबाट बचाउनु र भविष्यमा आइपर्नसक्ने मुटुरोगसम्बन्धी कुनै पनि जोखिमबाट बचाउनु हो । यो प्रक्रिया अपनाउँदा तिघ्राको कापमा वा दाहिने अथवा देब्रे हातमा एउटा सानो प्वाल पारिन्छ । बिरामीको पीडा वा दुखाई कम गर्न प्वाल पारिने स्थानमा लठ्याउने औषधि दिइन्छ ।

क्याथेटर भनिने एउटा सानो ट्युब बिरामीको मुटुको धमनीसम्म पठाइन्छ । मुटुको एक्स–रे लिँदै त्यो क्याथेटरलाई बन्द भएको वा साँघुरिएको धमनीसम्म पु¥याइन्छ । बन्द भएको धमनीको भाग पत्ता लगाइसकेपछि क्याथेटरको टुप्पोमा रहेको बेलुनलाई फुलाइन्छ र बन्द भएको वा साँघुरिएको धमनीलाई खोलिन्छ । यसरी बन्द भएको भाग खोलेपछि मुटुमा रक्त प्रवाह पुनः स्थापित गराइन्छ । धमनी बन्द भएको वा साँघुरिएको भाग पुनः बन्द नहोस् भन्नका लागि त्यहाँ एउटा स्टेन्ट जडान अर्थात्
प्रत्यारोपन गरिन्छ ।

स्टेन्ट हालसम्म जम्मा तीन किसिमका छन् । ती हुन्– औषधिरहित धातुको स्टेन्ट (जुन सबैभन्दा सस्तो हुन्छ), अर्को स्टेन्टमा औषधि लेपन गरिएको स्टेन्ट जुन केही महँगो हुन्छ र तेस्रो किसिमको स्टेन्टमा अत्याधुनिक मांसपेशीमै विलय हुने स्टेन्ट पर्छन् । तेस्रो किसिमको स्टेन्टले जडान गरिएको धमनीमा औषधिका माध्यमबाट यथेष्ट रक्त प्रवाह गराइसकेपछि र धमनीको चोट ठीक भइसकेपछि धमनीको त्यही भागमा विलय भएर जान्छ । अनुसन्धानकर्ताहरूले के विश्वास गरेका छन् भने यस्तो किसिमको स्टेन्ट धमनीमा जडान गरिसकेपछि त्यस स्थानको रोकावट वा अवरोध खोल्न धातुको स्टेन्ट राखिरहनु पर्दैन । रक्तनलीहरूमा धातुको स्टेन्ट जडान गरेर छोड्नुपर्ने अवस्थाबाट यस खाले स्टेन्टले बिरामीलाई राहत दिन सक्छ । रक्त नलीहरू आफ्नो पुरानै अवस्थामा फर्किने सम्भावना रहन्छ र भविष्यमा आइपर्न सक्ने त्यसखाले प्रक्रियाहरूबाट समेत बिरामीलाई जोगाउँछ । स्टेन्ट जडान गरिसकेपछि क्याथेटलाई झिकिन्छ र सामान्यतः यो प्रक्रिया पूरा हुन २० देखि ४५ मिनेटको समय लाग्छ । तर कहिलेकाहीँ प्राविधिक रूपले जटिल अवस्था सिर्जना भई धेरै समय लाग्ने गर्छ ।

९६ प्रतिशतभन्दा बढी एन्जियोप्लाष्टि प्रक्रियाहरू तत्कालै सफल हुन्छन् । रोकावट भएको धमनीबाट रक्त प्रवाह सुचारु भएपछि बिरामीले तत्कालै राहत पाउने, सामान्य अवस्थामा फर्कने र छाती दुखाई (एन्जाइना) कम हुने हुन्छ । तर जटिल प्रकृतिका धमनीका रोग भएका बिरामीहरू भने पूर्णतया ठीक नहुन पनि सक्छन् पनि तिनको रोगको लक्षण भने कम हुँदै जाने हुन्छ । तिनीहरूलाई सक्रिय र सहज जीवन जीउन सजिलो पर्छ । मुटुको शल्यक्रिया गरेको अवस्थामा भन्दा एन्जियोप्लाष्टि गर्दाको अवस्थामा बिरामीहरू चाँडै निको हुन्छन् । धेरैजसो बिरामी एन्जियोप्लाष्टि गरेको दिन घर फर्कन सक्छन् भने केही बिरामी एन्जियोप्लाष्टि गरेको दोस्रो बिहान मात्र फर्कन्छन् ।

हाम्रोजस्तो गरिबीको रेखामुनि रहेको देशमा जहाँ मेडिकल इन्युरेन्स लागू गरेको छैन, यहाँका जनताका लागि एन्जियोप्लाष्टि प्रक्रिया निकै नै महँगो साबित हुन्छ । त्यो एउटा हाम्रा लागि नकारात्मक पक्ष हो । अर्कोतर्फ, जुन बिरामीका धेरै धमनी साँघुरिएका वा बन्द भएका हुन्छन् त्यसखाले समस्यामा पनि एन्जियोल्लाष्टि प्रक्रिया फलदायी नहुन सक्छ । त्यसरी नै खोलिएको धमनी एन्जिलोप्लाष्टि पछि पनि पुनः बन्द हुने वा साँघुरिने सम्भावना रहन्छ । त्यसपछि यसलाई धमनी पुनः साँघुरिएको भन्न सकिन्छ । यदि धमनी पुनः साँघुरिएको वा बन्द भएको खण्डमा बिरामीलाई पुनः छाती दुख्ने हुन्छ र फेरि हृदयाघात हुन पनि सक्छ । पुनः बन्द भएको धमनीलाई दोस्रो एन्जियोप्लाष्टि वा कहिलेकाहीँ मुटुको बाइपास शल्यक्रिया वा औषधि उपचारबाट कम गर्न सक्छ ।

यदि तपाईं आफैँ बिरामी हुनुहुन्छ भने एन्जियोप्लाष्टि गरिसकेपछि पनि आफ्नो जीवनशैलीमा सुधार ल्याएर आहार–व्यवहारमा नियन्त्रण गरेर वा शारीरिक क्रियाकलाप बढाएर आफूलाई स्वस्थ र स्फूर्त राख्न वाञ्छनीय हुन्छ । एन्जियोप्लाष्टि गरिसकेपछि पनि तपाईंले नियमित रूपमा चिकित्सकको सम्पर्कमा रहने र सल्लाहअनुसार कोपिडग्रेल र एस्पीरिनजस्ता औषधिहरू चिकित्सकको अनुमति बिना छाड्नु हुँदैन । त्यसका साथसाथै तपाईंले धूमपान त्याग्ने, चिनीको रोग भए नियन्त्रणमा राख्ने, रक्तचाप भए नियमित परीक्षण गर्ने र आफ्नो शारीरिक तौल बढ्न नदिने गर्नुपर्छ साथै बासोयुक्त खाना र कोलेस्टेरोल बढ्ने खाना पूर्णतया बन्द गर्नुपर्छ । तपाईं मांसहारी हुनुहुन्छ भने रातो मासु नखाने, चिल्लोयुक्त दुग्घ पदार्थ (चिज, घिउ) नखाने र बजारमा पाइने तयारी खाना बन्द गर्नुपर्ने हुन्छ । त्यसको बदलामा दैनिक रूपमा ताजा साजसब्जी र फलफूलमा वृद्धि गर्ने र यदि तपाईं मद्यपान गर्नु हुन्छ भने हार्ड ड्रिंकको सट्टा निश्चित मात्रामा रेड वाइनजस्ता पेय पदार्थहरू लिने बानी बसाल्नु पर्छ ।

भविष्यमा आफूलाई तन्दुरुस्त राख्न आजैबाट तपाईंले नियमित रूपमा व्यायाम गर्ने बानी बसाल्दै व्यायामले आफूलाई पु¥याउने फाइदाबारे सचेत रहनुपर्छ । याद रहोस्, शारीरिक व्यायामले तपाईंको मुटुलाई रक्षा गर्नुका साथै शरीरको शक्ति सन्तुलन र मानसिक शान्तिका लागि सकारात्मक भूमिका खेल्छ । दैनिक हिँड्नु व्यायामको एक सजिलो उपाय हो । यदि तपाईं ठूला–ठूला भवनमा माथि चढ्दा लिफ्टको प्रयोग गर्नुहुन्छ भने त्यसलाई छोडेर भ¥याङबाटै माथि चढ्ने, कतै जाँदा बस अथवा कारमा यात्रा गर्नुभन्दा हिँडेर जाने बानी गर्नु उपयुक्त हुन्छ ।

हृदयाघात भएका बखत त्यसका लक्षणहरू करिब ३० मिनेट वा बढी समयसम्मका लागि रहन सक्छ । हृदयाघात हुने बेलामा सामान्यतया छातीमा असजिलो हुने, रक्तचाप बढ्ने, पुरा छाती गह्रुँगो भएको अनुभव हुने, छाती दुख्ने, पाखुरा वा छातीको करङको तल्लो भाग दुख्ने अथवा दुखाई सर्दै गएर पिठ्यूँ, बङ्गरा, गर्दन अथवा हाततिर वा समग्रमा सबैतिर दुख्ने, अपच हुने, श्वास फेर्न गाह्रो हुने, चिटचिट पसिना आउने, वाक्वाकी लाग्ने, बान्ता हुने, झुम्म लागेजस्तो हुने, कमजोरी हुने, बेचैनी हुने, स्वाँस्वाँ बढ्ने र मुटुको धड्कन छिटोछिटो बढ्ने वा अनियमित हुनेजस्ता लक्षणहरू देखापर्छन् ।

जेसुकै भए पनि यदि तपार्इंलाई हृदयाघात भएको शङ्का भएमा तपाईंले तत्कालै हृदयरोग उपचार केन्द्रमा सम्पर्क गर्नुपर्छ । साथै, त्यस अवस्थामा एक ट्याब्लेट एस्पिरिन (३०० मि.ग्रा.) बिरामीलाई तत्कालै ख्वाइदिनुपर्छ । तत्कालै गरिएको उपचार बिरामीको मुटुमा धेरै हानि हुनुबाट जोगाउने एक उपयुक्त तरिका हुनसक्छ ।-गोरखापत्र दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार