मेरा पिक हिमालमा स्याब्रु नाच छायांकन गरेर विश्व रेकर्ड राख्ने तयारी

शेर्पा कार्यक्रम आयोजकले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित मेरा पिक (६,४७६ मि.) हिमालमा शेर्पा तथा नेपाली गीत संगीतको विश्व रेकर्ड कायम गरी गिनिज वल्र्ड रेकर्डमा नाम दर्ता गराउने भएको छ । शेर्पा समुदायको परम्परागत स्याब्रु नृत्य तथा शेर्पा समुदायको गीतका साथै नेपाली गीतहरूको वृत्तचित्र छायांकन गरी विश्व रेकर्ड कायम गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाले जानकारी दिएको छ । स्याब्रु नृत्यमा महिला, पुरुष दुवै सहभागी हुन्छन् ।

आयोजकका अनुसार कार्यक्रममा विभिन्न जिल्लाका १८ जना शेर्पा युवायुवती सहभागी हुनेछन् । टोली आगामी शुक्रबार काठमाडौंबाट सोलुखुम्बु प्रस्थान गर्नेछ । काठमाडौंबाट हिँडेको १५ दिनभित्र रेकर्ड राख्ने र ७ कात्तिकमा काठमाडौं आउने कार्यक्रम रहेको शेर्पाले बताए ।

शेर्पा समुदायको परम्परागत रीतिरिवाज, भाषा, कला, संस्कृति, पहिचान र विविध संस्कृति, मूल्यमान्यतालाई जीवन्त राख्ने उद्देश्यले क्रियाशील रहेको पत्रकार सम्मेलनमा कार्यक्रमका अध्यक्ष निरु शेर्पाले बताए । ‘शेर्पा समुदायको आफ्नै मौलिक परम्परा, भाषा, भेष, चाडपर्व अनि संस्कार रहेको छ । यस जातिको मूल्यमान्यता, रीतिरिवाज र परम्परागत संस्कृति बौद्धधर्ममा आधारित छन् । स्याब्रु शेर्पाहरूको भाषा, भेष, कला संस्कृतिसँग सम्बन्धित मौलिक नाच हो, जसमा आफ्नै मौलिक बाजा टुब्नाको प्रयोग गरिन्छ । यो नाच बिहेबारी, लोसारलगायत अन्य चाडपर्वहरूमा पनि नाचिन्छ । यस नाचमा महिला पुरुष दुवैको सहभागिता रहन्छ । यो एउटा सामूहिक नाच हो जसमा शेर्पाहरूको मौलिक पहिचान झल्किन्छ ।’ शेर्पाले भने ।

शेर्पा समुदायको मात्र नभएर नेपालकै शिर उच्च राख्दै विश्वकै आदिवासीहरूको प्रतिनिधित्व गर्दै एउटा गौरवशाली इतिहास रच्ने विश्वास गरिएको शेर्पाले बताए ।

हिमालसँगको प्रगाढ नातालाई झल्काउँदै विश्व तामक्रम न्यूनीकरण गरी प्रकृतिलाई सम्मान अनि माया गर्नुपर्छ भन्ने सन्देश पनि विश्वसामु प्रवाह गर्ने उनले बताए । कोभिड– १९ले अस्तव्यस्त बनेको पर्यटन क्षेत्रलाई उकास्नको साथै पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुग्ने आयोजकको विश्वास छ ।-नयाँ पत्रिका दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार