‘दुई वर्षपछि देखियो संसार’

सन्तोष राउत/सोलुखुम्बु । सगरमाथाको फेदिमा आँखा शिविर सञ्चालन हुँदा यहाँका बृद्धबृद्धाहरुलाई ठूलो राहत पुगेको छ । शिविरमा २९ जना विरामीको आँखाको सफल सल्यक्रिया गरिएको छ ।

करिब दुई वर्षअघि आखाँको ज्योति गुमाउनुभएका सोलुखुम्बुको खुम्बुपासाङल्हमू गाउँपालिका–४ का ७४ वर्षिया छिरिङ शेर्पाले हर्षका आशु झार्दै भन्नुभयो, “अब फेरि यो संसार देख्न सक्छु भन्ने मलाई लागेको थिएन, तर आँखाको अप्रेशन गर्ने वित्तिकै पहिलाकोजस्तै आँखा देख्ने भएको छु ।” शल्यक्रिया पश्चात दोस्रो पटक संसार देख्न पाएकोमा खुशी हुँदै उहाँले चिकित्सकलाई धन्यवाद दिनुभयो ।

आँखा नदेख्ने शेर्पाको दुवै आँखाको सफल शल्यक्रिया भएपछि उहाँले तत्काल आँखा देख्नुभएको हो ।

त्यस्तै, सोही गाउँपालिका– ५ की माइली शेर्पाले दुवै आँखाको ज्योति गुमाएर अन्धकार जीवन बिताइरहनुभएकोमा शल्यक्रिया पछि आँखा देख्न थाल्नुभएपछि खुशी हुनुभयो ।

खुम्बु पासाङल्हमू गाउँपालिका– ४ स्थित खुन्दे अस्पतालमा सञ्चालन गरिएको आँखा शिविरमा २९ जनाको मातियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको हो । गाउँमै आँखाको शल्यक्रिया तथा उपचार गर्न पाउँदा लामो समयदेखि आँखाको समस्यामा समाधान भएको भन्दै स्थानीय खुशी भएका हुन् ।

तिलगंगा आँखा प्रतिष्ठान, खुन्दे अस्पताल, हिमालयन ट्रष्ट नेपाल, जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु र खुम्बु पासाङल्हमू गाँउपालिकाको संयुक्त आयोजना तथा हिमालयन मोतियाबिन्दु परियोजनाको बिशेष सहयोगमा भएको शिविरमा ११ पुरुष र १८ महिलाको मोतिबिन्दुको शल्यक्रिया गरिएको सामूदायिक आँखा केन्द्र फाप्लुका इन्चार्ज पुष्पबाबु बस्नेतले जानकारी दिनुभयो ।

शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डाक्टर रीता गुरुङ, कार्यक्रम निर्देशक नविनकुमार राई उपचारमा संलग्न हुनुहुन्थ्यो । शिविरमा खुम्बु क्षेत्रका ९२७ जनाको आँखा परिक्षणबाट २९ जनालाई शल्यक्रियाका लागि छनौट गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार