दुई निर्णायक मोड पारगर्दै नेपालकाे फाइनल यात्रा तय

दक्षिण एसियाली क्षेत्रमा नेपाल फुटबलमा सँधै सशक्त टिमको रुपमा रहेको छ । यद्यपि साफ च्यामिपयन्सिपको १२ औं संस्करण सकिँदा पनि नेपालले यस प्रतियोगिताको फाइनल खेल्न सकेको थिएन । तर माल्दिभ्समा भइरहेको १३ औँ साफ च्याम्पियन्सीपमा भने नेपाली फुटबल टिमले फाइनल यात्राको सूत्र पत्ता लगाउन सफल भएको छ ।

नेपालले बुधबार तनावपूर्ण खेलमा बङ्गलादेशलाई १–१ ले बराबरीमा रोकेर पहिलो पटक दक्षिण एसियाको सबभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियन्सीपको फाइनलमा पुगैर इतिहास बनायो । निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा अन्जन विष्टले पेनाल्टीमा गोल गरेपछि मात्र नेपाल नाटकीय रुपमा उपाधि भिडन्तमा पुग्न सफल भएको हो । अब नेपालले गत विजेता तथा आयोजक माल्दिभ्स तथा सर्वाधिक पटक च्याम्पिन बनेको भारतमध्ये एकविरुद्ध खेल्नेछ ।

नेपालको जितमा दुई निर्णायक मोड
साफ च्याम्पियन्सीपमा नेपालले सुरुका दुई खेलमा माल्दिभ्स र श्रीलङ्कालाई हराएर फाइनलको यात्रा सहज बनाएको थियो । पछिल्लो खेलमा नै भारतलाई बराबरीमा रोकेमा नेपाल फाइनलमा पुग्ने तय थियो । भारतविरुद्ध नेपालले अति डिफेन्सिभ खेल्यो । जसअनुसार भारतलाई खेलको ८२ औँ मिनेटसम्म रोक्न नेपाल सफल पनि भयो । तर निर्धारित समय सकिन आठ मिनेट बाँकी छँदा सुनील क्षेत्रीको गोलले भारतविरुद्धको खेल हारेपछि नेपालले फाइनलखेल्ने बङ्गलादेशसँग कम्तिमा एक अङ्क निकाल्नुपर्ने समीकरण बनेको हो ।

बङगलादेशसँग हार टारेमा फाइनलको लागि योग्य बन्ने नेपालले खेलको आठौँ मिनेटमा नै गोल वेहोरेपछि भने नेपाली समर्थकको ढुकढुकी बढेको थियो । जमान भुँयाको क्रसमा गोलपोस्ट नजिक विना निगरानीमा रहेका सुमन रेजाले हेडमार्फत गोल गरेपछि नेपाल पछाडि परेको हो । सुरुमै गोल वेहोरेपछि नेपालले आक्रमक रणनीति अपनायो । यद्यपि गोल प्राप्त गर्न सकिरहेको थिएन ।

खेलको १५ औँ मिनेटमा नै ओभरल्यापमा आएका गौतम श्रेष्ठले दिएको पासमा गोलपोस्टबाट छ गजमा रहेका रोहितले गोल गर्ने सजिलो अवसर गुमाउनुभयो । खेलको ३२ औँ मिनेटमा आयुष घलानले पनि गोल गर्ने अवसर गुमाउनुभयो । उत्तराद्र्धको सातौँ मिनेटमा आयुषले नै छ गजको दुरीबाट हेड गरेको बललाई बङ्गलादेशका गोलरक्षक अनिसुर रहमानले उत्कृष्ट ढङ्गले बचाउँदा नेपालसमक्ष रहेको दबाब कायम रह्यो । खेलको ७० औँ मिनेटमा रोहितको प्रहार गोलपोस्ट नजिकबाट बाहिरयो ।

उता खेलको ५५ औँ मिनेटमा प्रत्याक्रमणमा गोलकर्ता सुमनले वनभर्सेज वनमा गरेको प्रहारलाई किरण चेम्जोङले विफल नपारेको भए नेपालको चुनाती लगभग समाप्त भइसक्ने थियो ।
नेपालले खेलमा फर्किन दुई निर्णायक मोड आए । खेलको ७९ औँ मिनेटमा बङगलादेशका डिफेन्डरको ब्याक पास गलत बनेपछि अन्जनले बल प्राप्त गर्नुभएको थियो । सो बललाई जोगाउन गोलपोस्ट बाहिर आएका बङ्गलादेशी गोलरक्षक रहमानले हातले बल रोकेपछि रेफ्रीले सीधै राता कार्ड देखाए ।

त्यसपछि एक खेलाडीको फाइदामा खेलेको नेपालले खेलको ८६ औँ मिनेटमा अर्को निर्णायक मोड प्राप्त गर्यो । बङगलादेशी डिफेन्डरले डिबक्समा अन्जनलाई अनावश्यक रुपमा लडाएपछि नेपालले पेनाल्टी प्राप्त गर्यो । अन्जनले सो पेनाल्टीलाई गोलमा परिणत गर्नुभयो र सोही गोलले नेपाललाई फाइनलमा पुर्यायो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार