काँग्रेसका निर्वाचित १३ जिल्ला सभापति को कुन पक्षका ?

काठमाडौँ। नेपाली काँग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत १३ हिमाली जिल्लामा अधिवेशन सकिएको छ भने सभापति सहित कार्यसमिति र महाधिवेशन प्रतिनिधिको टुङ्गोसमेत लागेको छ। हिमाली जिल्ला भए पनि विवादका कारण सिन्धुपाल्चोकको वडा अधिवेशनपछि रोकियो भने जुम्लाको वडा अधिवेशन मात्र भएको छ । अर्को हिमाली जिल्ला रसुवाको क्रियाशील सदस्यताको विवाद नमिलेका कारण वडा अधिवेशन नै सुरु भएको छैन ।

अधिवेशन सम्पन्न भएका १३ जिल्ला सभापतिमध्ये कसको पक्षमा पल्ला भारी भएको भन्ने हिसाबकिताब समेत सुरु भएको छ। ताप्लेजुङ, सङ्खुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, कालिकोट, मुगु, हुम्ला, बझाङ र बाजुराको जिल्ला अधिवेशन सम्पन्न भएको छ।

अधिवेशन सकिएका १३ मध्ये ताप्लेजुङका गजेन्द्र तुम्याहाङ्, मनाङका शङ्कर गुरुङ, रुकुम पूर्वका केशरमान रोका, हुम्लाका मोहनविक्रम शाही, रामेछापका कान्छाराम लामा, मुगुका ऐनबहादुर शाहीसमेत ६ जिल्लाका सभापति केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षीय संस्थापन निकट मानिन्छन् । बझाङ जिल्ला सभापति खडग बोहराले जिते । उनी देउवा पक्षका हुन् ।

गोरखाका सभापति नन्दप्रसाद न्यौपाने, दोलखाका बर्मा लामा, कालिकोटका अम्मरबहादुर शाही, सङ्खुवासभाका दीपक खड्का, बाजुराका रामसिंह रावल र मुस्ताङका रोमी गौचन संस्थापन इतर समूह निकट हुन् ।

सोलुखुम्बु हिमाली जिल्ला भए पनि पालिकासम्म मात्र अधिवेशन सम्पन्न भएको छ । धादिङमा पनि पालिका तहसम्म मात्र अधिवेशन सम्पन्न भएको छ । हिमाली जिल्ला डोल्पामा दशैं र तिहारको बीचमा मात्र जिल्ला अधिवेशन हुने भएको छ ।

काँग्रेसको ४ वटा महानगर समितिमा भने संस्थापन इतर समूहका विजयी भएका छन् । काठमाडौँ महानगर, पोखरा महानगर, भरतपुर र विराटनगर महानगरमा देउवा इतर समूह विजयी भएका छन् भने ललितपुर महानगरपालिकामा मात्र देउवा समूह विजयी भएको छ। अर्को महानगर वीरगन्ज रहेको पर्साको वडा अधिवेशन नै सुरु भएको छैन ।- source:hamrakura.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार