काँग्रेसको १४औँ महाधिवेशन : यस्तो बन्नेछ केन्द्रीय कार्य समिति

१४औँ महाधिवेशन सम्पन्न भएपछि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति दोब्बर ठूलो हुने भएको छ । १३औँ महाधिवेशनको तुलनामा पदाधिकारी, केन्द्रीय समितिमा पुग्ने खुला, महिला, आदिवासी जनजाति, समावेशीलगायतका क्षेत्रमा व्यापक परिवर्तन गरिएपछि काँग्रेसको केन्द्रीय समितिको आकार १६८ पुग्ने भएको हो । यसअघि यो सङ्ख्या ८५ सदस्यीय थियो । काँग्रेसको इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समिति बनाउन लागिएको हो।

काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय समितिको आकार बढ्ने अवस्था रहेको जानकारी दिनुभयो । केन्द्रीय निर्वाचन समितिका अनुसार सभापतिसहित १४ जना पदाधिकारीको चयन यस पटकको महाधिवेशनले गर्नेछ । जसमा उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री आठ जना र कोषाध्यक्ष एक जना गरी १४ सदस्यीय पदाधिकारी रहनेछ । कोषाध्यक्षबाहेक पदाधिकारीका १३ सिट नै महाधिवेशन प्रतिनिधिले निर्वाचनको माध्यमबाट चुन्ने छन् ।

काँग्रेसले यस पटक सबैभन्दा धेरै नेतालाई खुला सदस्यबाट केन्द्रीय समितिमा पुर्याउन सक्नेछ । खुला सदस्यमा यस पटक ३५ स्थान छुट्याइएको छ । यसअघि खुला सदस्यको सङ्ख्या २५ थियो । खासगरी पदाधिकारी निर्वाचन नलड्ने तर पाका पुस्ताका धेरै नेता केन्द्रीय समितिमा जान चाहने भएका कारण खुला सदस्यको सङ्ख्या बढाइएको हो । खुला सदस्यमा देशभरका महाधिवेशन प्रतिनिधिले मतदान गर्न पाउनेछन् ।

काँग्रेसले यस पटक महिलाको केन्द्रीय समितिको प्रतिनिधित्वलाई पनि थप सुनिश्चित गरेको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिले कम्तीमा दस वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएका महिला केन्द्रीय महाधिवेशन प्रतिनिधिबाट प्रत्यक्ष निर्वाचित गरेका नौ जना महिला सदस्यहरू केन्द्रीय समितिमा पुग्नेछन् ।
काँग्रेसले सातवटै प्रदेशबाटसमेत केन्द्रीय समितिमा प्रतिनिधित्वको सुनिश्चित गरेको छ । सोअनुसार प्रदेशका महाधिवेशन प्रतिनिधिमध्येबाट एक जना महिलासहित तीन जना रहने गरी प्रत्यक्ष निर्वाचनको माध्यमबाट सातवटै प्रदेशबाट २१ जना केन्द्रीय समितिको भूमिकामा पुग्नेछन् ।

यसका साथै केन्द्रीय महाधिवेशन प्रतिनिधिले चार महिलासहित नौ जना दलित, सात महिलासहित आदिवासी जनजातिबाट १५ जना, खसआर्यबाट छ जना महिलासहित १३ जना, मधेसीबाट चार महिलासहित नौ जना, थारूबाट दुई महिलासहित चार जना, मुस्लिमबाट एक महिलासहित तीन जना र पिछडिएको क्षेत्रबाट एक जना गरी ५४ जना निर्वाचित हुने व्यवस्था गरिएको छ । यसअतिरिक्त अल्पसङ्ख्यक र अपाङ्गताबाट एक÷एक गरी दुई जना महाधिवेशन प्रतिनिधिको चयन गर्ने व्यवस्था काँग्रेसको विधानमा छ ।

३३ जना मात्रै मनोनित
काँग्रेसले यस पटकको विधानमा मनोनितको सङ्ख्या ह्वात्तै घटाएर निर्वाचनको माध्यमबाट चयन गरिने कुरालाई प्राथमिकता दिइएको छ । कुल १६८ केन्द्रीय कार्यसमितिमा यस पटक निर्वाचित हुने सभापतिले जम्मा ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई मात्र केन्द्रीय समितिमा मनोनित गर्नसक्छ । त्यसमा पनि एक तिहाइ महिला हुनुपर्ने व्यवस्था गरिएको छ । यसबाहेक समानुपातिक समावेशी सिद्धान्त, अपाङ्गता वा अल्पसङ्ख्यक वा पिछडिएका क्षेत्रको समेत प्रतिनिधित्वलाई ध्यान दिनुपर्ने विधानमा उल्लेख छ ।

यो अवस्थामा सभापतिले धेरैलाई केन्द्रीय समितिमा मनोनित गर्नसमेत नसक्ने अवस्था रहेको जनाइएको छ । यसअघि मनोनितको सङ्ख्या १६ थियो र केन्द्रीय समितिको आकारसमेत सानो थियो । काँग्रेसको संसदीय दलको नेता केन्द्रीय समितिको पदेन सदस्य हुने व्यवस्था छ । – शेषकान्त पण्डित/गोरखापत्र दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार