टेलिकमको सेवा गुणस्तरहीन हुँदा उपभोक्ता हैरान

सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीलगायत जिल्लाका सबैजसो स्थानमा नेपाल टेलिकमको सेवा प्रभावकारी नुहँदा सर्वसाधरणले सास्ती खेप्दै आएकाछन् । नेपाल टेलिकमका सेवाहरु इन्टरनेट तथा टेलिफोनको नेटवर्कमा सधैँजसो समस्या हुँदा उपभोक्ताहरुले सास्ती हैरान भएको गुनासो गरेका छन् ।

सदरमुकाममा सञ्चालित एडिएसएल तथा फोरजी इन्टरनेट सेवाले काम नगर्दा इन्टरनेटको माध्यामबाट काम गर्नेका लागि समस्या भएको बताइएको छ । सदरमुकाममा इन्टरनेटले व्यवसायीहरुलाई हैरान बनाएको छ भने इन्टरनेटबाट प्रदान गरिने विभिन्न कार्यालयबाट सेवा लिन जनतालाई धेरै समय लाग्ने गरेको छ ।

एक जना सञ्चारकर्मी अनुज खड्काले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै टेलिकमले फेरजीको नाटक गरेर सिधा जनता लुट्ने काम गरिरहेको गुनासो गर्नुभएको छ । त्यस्तै, सोताङ गाउँपालिकाका हिरा नाछिरिङले पनि सेवा विनाको फोरजी सञ्चालन गरेर जनतालाई हैरानी बनाएको बताउनुभयो । लामो समयदेखि जिल्लाभरीको नेटवर्कले राम्रो काम नगर्दा सेवा भन्दा सास्ती बढी भएको गुनासो आइरहेको छ ।
नेटवर्कमा समस्या हुँदा अत्यावश्यक काम पर्दा वा विपत आईपर्दा समेत सम्पर्क गर्न सम्भव नहुने नेचा सल्यान गाउँपालिका १ का सुवास राउतले बताउनुभयो । माथिल्लो क्षेत्रको पर्यटकीय क्षेत्रमा पनि सेवा उस्तै रहेको गुनासो छ ।

सेवाका बारेमा नेपाल टेलिकम सोलुखुम्बुका प्रमुख मोहम्मद अकबर अलीले भने कहिलेकाँही सिस्टममा समस्या आउने गरेकोले यस्तो भएको र आफूले सम्बन्धित निकायमा जानकारी गराएको भन्दै हल्का रुपमा लिनुभयो । तर सोलुखुम्बुका जनताले कामै नलाग्ने सेवा भएको गुनासो गरिरहेका छन् । टेलिकम प्रमुखले उचित व्यवस्थापन नगर्दा विगत लामो समयदेखि सदरमुकामको इन्टरनेट र गाउँगाउँमा राखिएको फोरजीले गुणस्तरीय काम नगरेको स्थानीयको आरोप छ ।

इन्टरनेट सेवा गुणस्तरहीन हुँदा महँगोमा नीजि कम्पनीको सेवा लिनुपरेको गुनासो छ । अझ गाउँमा राखिएका फोरजीको टावरले काम नगर्दा समस्या भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार