सोलुखुम्बुका राउत माओवादी केन्द्रको प्रदेश कमिटीमा चयन

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका लोकेन्द्र बहादुर राउत ‘आर.सी.’ ले माओवादी केन्द्रको प्रदेश कमिटीको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्रको कार्तिक ४ गते पेरिसडाँडा, काठमाडौंमा बसेको स्थायी समितिको बैठकद्वारा राउतलाई उपत्यका विशेष प्रदेश कमिटीमा पेशागत संगठनको तर्फबाट जिम्मावारी प्रदान गरिएको हो ।

उहाँलाई जिम्मावारी प्रदान गरेसँग सोलुखुम्बुबाट प्रदेश कमिटी सदस्य संख्या थप भएको हो । लामो समयदेखि कर्मचारीको पेशागत संगठन मार्फत माओवादी आन्दोलनमा क्रियाशील राउत नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय राष्ट्रिय समितिका महासचिव हुनुहुन्छ।

त्यसैगरी उहाँले वि. सं. २०५६ सालमा अखिल क्रान्तिकारीको संस्थापक जिल्ला सचिव, सहिद प्रतिष्ठान नेपालको संस्थापक जिल्ला अध्यक्ष , तीन कार्यकाल पार्टीको जिल्ला सदस्य, विभिन्न विभागीय जिम्मेवारी र हाल कुसुम प्रतिष्ठानको अध्यक्षको जिम्मावारी बहन गरिरहनु भएको छ ।

सोलुखुम्बुमा माओवादी जनयुद्वका संस्थापक एवं बहुचर्चित नेता कुसुम क्षेत्रीका भाई समेत रहेका राउत सोलुखुम्बु , ओखलढुंगा र खोटाङको माओवादी संगठनमा राम्रो पकड र प्रभाव पार्न सक्ने नेताका रुपमा लिइन्छ ।

राउत बिशेष प्रदेश कमिटी सदस्य भएसंगै सोलुखुम्बुबाट गोम्बु शेर्पा कर्ज्याङ, सागर किराती, करुणा बस्नेत र ध्रुब पराजुली सहित प्रदेश कमिटी सदस्यको संख्या पाँच पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार