पत्रकार निरौलाद्वारा विश्वकै लामो रेडियो अन्तरवार्ता सम्पन्न

डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल सोलुखुम्बुका पत्रकार भानुभक्त निरौलाले २५ घण्टा २७ मिनेट लामो रेडियो अन्तरवार्ता लिनुभएको छ। विश्व रेकर्डका लागि लिइएको अन्तरवार्ताका जवाफकर्ताको रुपमा पर्यटनविद् आङफिन्जो शेर्पा रहनुभएको थियो।

गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ज गर्ने हेतुले शुरु गरिएको ‘सबैभन्दा लामो रेडियो अन्तरवार्ता’ सोमबार विहान ७.३५ देखि शुरु गरिएको थियो । हिमाल एफ.एम.को चावहिल स्थित शाखा स्टुडियोमा आयोजित अन्तरवार्ता मंगलबार विहान ९.०३ सम्म जारी थियो ।

‘पर्यटन र जलवायू परिवर्तनको असर’ विषयमा विश्वकै लामो रेडियो अन्तरवार्ता गरेर पत्रकार निरौला र पर्यटनविद् शेर्पाले गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा  यसअघि कायम रहेको रेकर्ड ब्रेकका लागि दाबी पेश गर्नुभएको छ।

यसअघि यो विधाको रेकर्ड अष्ट्रेलियाका पत्रकार रिचार्ड ग्लोभलले स्पोर्टस म्यान पेटर फिट्जसिमनसंग २४ घण्टा अन्तरवार्ता गरेर पछिल्लो रेकर्ड बनाउनु भएको थियो।

पुर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेका निरौला हाल हिमाल एफ.एम.को प्रबन्ध निर्देशक हुनुहुन्छ भने कान्तिपुर टेलिभिजन र कान्तिपुर दैनिकमा सोलुखुम्बु प्रतिनिधिका रुपमा रिर्पोटिङ गरिरहनु भएको छ । उहाँ सोलुखुम्बु सल्यान गाउँपालिका १ का स्थायी बासिन्दा हुनुहुन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार