आङगेलु समूहबाट कांग्रेस जिल्ला सभापति घोषणा, को को छन् टिममा ?

सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला सभापतिका लागि उम्मेद्वार बन्ने भएका छन् ।

आज देखि शुरु हुने जिल्ला अधिबेशनमा पुर्व पार्टी सभापति आङगेलु शेर्पाको पक्षबाट सभापति पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । स्थानीय तहको पहिलो निर्वाचनमा जिल्लाको ८ स्थानीय तहमध्ये निर्वाचन जित्ने एक मात्र नेताको छवि बनाएका शेर्पाले कांग्रेसको जिल्ला नेतृत्वका लागि उम्मेद्वारी घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेस सोलुखुम्बुलाई गतिशील, शसक्त, जनप्रिय बनाउदै जिल्लालाई कांग्रेसको किल्ला बनाउने महान अभियानका साथ जिल्ला सभापति पदमा मैले उम्मेदवारी दिएको छु । कांग्रेस सोलुमा खड्किएको पुस्तान्तरणको खाडल पुर्दै अग्रज पुस्तालाई सम्मान सहित स्वाभिमानी नेतृत्व स्थापित गर्ने अवसरलाई सदुपयोग गर्न यहाँको अमुल्य मतको अपेक्षा गरेको छु ।’

संगठन निर्माण र सदृढिकरणमा अब्बल शेर्पा प्रतिपक्षसंग टक्कर गर्न, कार्यकर्ताको उचित संरक्षण गर्न र पार्टीको एजेण्डा स्थापित गर्न सफल मानिन्छन् । नेतृत्व पुस्तान्तरणको बहस चलाउदै आएको पुर्व पार्टी सभापति शेर्पाले मेयर शेर्पालाई जिल्ला सभापतिको रुपमा अघि सारेका हुन् ।

उता, कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री बल बहादुर केसी पक्षले भने पुरानै अनुहार अघि बढाउने तयारी गरेको छ । २०४८ साल देखि लगातार संसदीय निर्वाचन लडेका केसीले जिल्ला सभापतिमा पुरानै अनुहार अघि सार्ने तयारी गरेका छन् ।

नेतृत्वमा पुस्तान्तरण आवश्यक बहस चलाएका पुर्व पार्टी सभापतिले आफ्नो पक्षबाट जिल्ला नेतृत्वमा सक्षम यूवा नेताहरुलाई अघि सारेका छन् । उपसभापतिमा प्रभावशाली यूवा नेता सुर्य कुलुङ र निष्ठावान नेता गणेश बस्नेतलाई अघि सारिएको छ ।

त्यस्तै सचिव पदका लागि कांग्रेस दुधकुण्डका पुर्व नगर सभापति दावागेलु पाख्रिन र थुलुङ दुधकोशी गाउँपालिकाकी उपाध्यक्ष समेत रहेकी कांग्रेस नेतृ सविता राई उम्मेद्वार बन्ने छन् । सह–सचिवमा ट्रेड यूनियन सोलुका अध्यक्ष उत्रमान राई र नेपाल विद्यार्थी संघ सोलुका उपाध्यक्ष नविन बस्नेतलाई अघि सारिएको छ ।

निर्वाचनमा ९ सय बढि क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार