कमल थापालाई हराउँदै राप्रपा अध्यक्ष बनेका राजेन्द्र लिङदेन को हुन् ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा लिङदेनले अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई पराजित गरेका हुन् ।

लिङ्देनले १८४४ मत प्राप्त गरेका थिए भने थापाले १६१७ मत प्राप्त गरेका थिए । ४१३ मत बदर भएको थियो ।

को हुन् उनी ?

२०२२ भदौ २२ गते पाँचथरमा जन्मेका लिङदेन गत निर्वाचनमा झापा ३ बाट प्रत्यक्षमा निर्वाचित सांसदसमेत हुन् ।

२०३६ सालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलबाट राजनीति सुरु गरेका उनी २०४९ सालमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संस्थापक अध्यक्ष भएका थिए । २०६६ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्‍य भएका लिङदेन २०७० मा राप्रपाको महामन्त्री भएका थिए ।

२०६१–६३ सम्‍म उनी जिल्ला विकास समिति झापाको सभापति भए । ०६० सालमा लिङ्देन जिल्ला विकास समिति झापाको सभापतिसमेत भएका थिए । दुई पटक जेल र ९ महिनाभन्दा बढी बन्दी जीवन बिताएका छन् । दोस्रो संविधान सभामा कांग्रेस नेता कृष्‍ण सिटौलासँग पराजित भएका लिङदेन २०७४ मा सिटौलालाई नै हराउँदै प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । उनले राजनीति शास्त्र र इतिहासमा स्नातक गरेका छन् ।

स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस वडा नम्बर–३ बाट २ पटकसम्म वडाध्यक्ष बनेका उनी वि.सं. २०६१ देखि २०६३ सम्म जिविस झापाको सभापतिसमेत बने ।

०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पराजय व्यहोरेका लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराएपछि चर्चामा रहे । लिङ्देन झापा क्षेत्र नम्बर–३ बाट सांसद् निर्वाचित भएका हुन् ।

राजनीतिक आन्दोलनको क्रममा पटक–पटक हिरासतमा बिताएका उनी २०३८ र २०४७ सालमा दुई पटक जेल परेका थिए । ९ महिनाभन्दा बढी समय बन्दी जीवन बिताएको उनी बताउँछन् । आफूलाई निष्ठाको पर्याय, विकास अभियन्ताको रुपमा परिचित गराउन चाहने लिङ्देन युवा पुस्तामा लोकप्रिय मानिन्छन् ।-नेपाली नेटवर्कबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार