नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको निर्वाचनमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नकटाएपछि प्रकाशमान सिंहले दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाउने हुनुभएको छ ।
पहिलो चरणमा सभापतिका उम्मेदवार देउवा,सिंह,विमलेन्द्र निधि र कल्याण गुरुङले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणमा सभापतिका लागि निर्वाचन हुन लागेको हो ।कसैको पनि बहुमत नआएपछि देउवा सिंहसँग भेटवार्ताका लागि सिंहको निवास चाक्सीबारी पुग्नु भएको थियो । देउवासँगको भेटवार्तापछि सिंहले आफूले देउवालाई सघाउने बताउनु भएको हो।
देउवाले पार्टीमा सुधार र कार्यशैली परिवर्तन गर्ने आश्वाशन दिएकाले सिंहले देउवालाई सघाउने निर्णय गर्नुभएको सिंह निकट एक नेताले इमेजखबरलाई जानकारी दिए । दोस्रो चरणको निर्वाचन आजै दिउँसो साँढे ३ वजेदेखि हुने भएको छ ।
दोस्रो चरणको मतदानमा निधिको पनि देउवालाई नै समर्थन
नेपाली कांग्रेसको सभापति पदका लागि हुने दोस्रो चरणको चुनावमा विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई नै सहयोग गर्ने भएका छन् ।
दोस्रो चरणको मतदानका लागि देउवा सहयाेग माग्न पुगेपछि निधिले समर्थन गरेका हुन । देउवा केहीबेर अघि निधिकाे निवास पुगेका थिए । त्यस क्रममा निधिले देउवालाई नै सहयोग गर्ने बताएको निधिको सचिवालयले जानकारी दिएको छ ।
निधिले देउवालाई बधाई दिदै दोस्रो कार्यकाल सफलताको शुभकामना दिएका थिए । पहिलो चरणको मतदानमा देउवालाई ८२ मत अपुग भएको थियो । सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने ब्यवस्था छ ।