पुराना कम्यूनिष्ट नेता किराँतीको नि’धन

सोलुखुम्बुका पुराना कम्यूनिष्ट नेता डि.बि. किराँतीको नि’धन भएको छ । मस्तिष्कको नशामा देखिएको समस्याका कारण काठमाण्डौँ स्थित न्यूरो अस्पतालमा उपचारत किराँतीको गएराति नि’धन भएको परिवारलाई उदृत गर्दै एमाले नेचासल्यानका अध्यक्ष जगनाथ बास्तोलाले जानकारी दिनुभयो ।

शारिरीक कमजोरी महसुस गरेपछि नेचामै ३ दिन आराम गरेका किराँतीलाई समस्या बढ्दै गएपछि जिल्ला अस्पताल फाप्लु भर्ना गरिएको थियो । फाप्लुमा दुई दिनको उपचारपछि थप उपचारको लागि काठमाण्डौँ लगिएको थियो ।

करिब एक हप्ता आइसियूमै राखेर उपचार गरिएको उनको नर्मल वार्डमा सारिसकेपछि गएराति नि’धन भएको पारिवारिक स्रोतले जनाएको छ । सुगर र प्रेसरको समेत रोगी रहेका ६६ बर्षिय किराँतीको निधन अघि गरिएको कोभिड परीक्षणबाट रिर्पोट पोजेटिभ आएकाले अन्त्यष्टि कसरी गर्ने भन्नेबारे टुंगो लागेको छैन् ।

जन्मभूमि ओखलढुंगा रुम्जाटारमा भएपनि सोलुखुम्बुको नेचासल्यान २ सल्यानलाई कर्मभूमि बनाउदै आएका उनी राजनिति, साहित्य र कृषिमा सक्रिय हुनुहुन्थ्यो। सल्यानमा कृषि फार्म संचालन गर्दै आउनुभएका किरातीले नेचासल्यानलाई अर्गानिक स्थानीय तह बनाउने अभियानमा अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएको थियो । सोलुखुम्बुमा कम्यूनिष्ट पार्टी स्थापनाकालका संस्थापक ५ मध्येका एक किराँती निरन्तर कम्यूनिष्ट आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो ।

पदाधिकारी तहमा कहिल्यै दाबी नगर्ने उनी निरन्तर कमिटीमा रहेर राजनितिक सक्रियता देखाउदै आउनुभएको थियो । गएको निर्वाचनमा प्रदेश सभा ‘क’मा उम्मेदवार बन्ने इच्छा व्यक्त गरेपनि जिल्लामा सहमति नजुुटेपछि आफ्नो दाबीबाट पछि हट्नु भएको थियो । उहाँ अहिले एमाले प्रदेश १ कमिटीमा सदस्यको रुपमा क्रियाशिल हुनुहुन्थ्यो ।

साहित्यतर्फ उहाँको विशेष रुची थियो । उहाँले सामाजिक उपन्यास‘खोजी’, लघुकाव्य ‘के तिमि जिउँदै छौ ?’, सामाजिक पुणांकी नाटक ‘चुनौती’, निबन्ध सग्रह ‘चौतारो’ र ‘के हो नयाँ नेपाल’, कविता संग्रह ‘पागलको डायरी भाग १ र २’लगायतका कृषिसँग सम्बन्धित पुस्तक प्रकाशित गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार