माओवादी वाग्मती प्रदेश नेतृत्व चयनमा निर्वाचन [उम्मेदवारको सूची]

नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेश कमिटी अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा जारी निर्वाचनअन्तर्गत सरल सहयात्री पौडेल र दिननाथ गौतमले उम्मेदवारी दिएका हुन्।

अध्यक्षसहित ९ पदाधिकारीका लागि २९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य डीबी तामाङले जानकारी दिए । उनका अनुसार उपाध्यक्षका लागि १०, सचिवमा ४, सहसचिवमा १० र कोषाध्यक्षका लागि ३ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

वाग्मती प्रदेशको मंसिर २५ र २६ गते काठमाडौंमा भएको सम्मेलनमा २७५ जना सदस्य चयन भए पनि पदाधिकारीमा सहमति हुन सकेको थिएन । अध्यक्षलगायत पदाधिकारीमा सहमतिका लागि लामो समयसम्म प्रयास हुँदा पनि पौडेल र गौतमले दाबी नछोडेपछि निर्वाचनमा गएको हो । यसअघि अध्यक्षका लागि आधा दर्जनभन्दा बढी नेताले दाबी गरेका थिए ।

अध्यक्ष र पदाधिकारी छनोटका लागि प्रदेश कमिटीका २७५ जनाले मतदान गर्ने माओवादी वाग्मती प्रदेश कमिटी सदस्य विदुर खड्काले बताए ।

माओवादीमा विवादका कारण कुनै प्रदेशमा पदाधिकारी मात्रै चयन गरिएका छन् भने कुनै प्रदेशमा पदाधिकारी बाहेकका सदस्यहरू मात्रै छनोट भएका छन् । अन्य प्रदेश कमिटी पदाधिकारी र सदस्य चयनका लागि निर्वाचन हुन नसके पनि वागमती प्रदेशमा भने निर्वाचन हुन लागेको हो ।-ekantipur.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार