रोकिएको सडक खन्ने निर्णयले लिखुपिकेबासी हर्षित, लिखुपिकेलाई सदरमुकामसँग जोड्ने आफ्नो प्रतिबद्धता पूरा हुने मेयर शेर्पाको भनाइ


सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरी र डाडापारीको गाउँपालिका भनेर चिनिने लिखुपिके गाउँपालिका जोड्ने सडकको ट्रयाक खन्ने काम पुनः शुरू हुने भएपछि लिखुपिकेबासी हर्षित भएका छन् ।

सोलुदूधकुण्ड नगरपालिका–२ क्षेत्रमा पर्ने टाक्टोर लामाजुरा वन क्षेत्रको २.५७ हेक्टर क्षेत्र सार्वजनिक प्रयोगका लागि दिने सरकारको निर्णयसँगै सल्लेरी–लिखुपिक जोड्ने सडकको ट्रयाक खोल्ने निश्चित भएपछि सरोकारवाला खुशी भएका हुन् । केही बर्षदेखि वन क्षेत्रमा सडक खन्न डिभिजन वनले रोक लगाएपछि सडक विस्तारको काम अलपत्र बनेको थियो ।

सरकारको निर्णय सार्वजनिक गर्दै सूचना, सञ्चार तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रहादुर कार्कीले टाक्टोर लामाजुरा वन क्षेत्र सडक निर्माणको लागि प्रयोग गर्न दिने बताएपछि सदरमुकामसँग सिधा आवतजावत हुने आशामा लिखुपिकेका जनता खुशी भएको स्थानीय अगुवा तथा नेपाली काँग्रेसका गाउँपालिका सभापति सुरज बस्नेतले बताउनुभयो । सडक सञ्चालनमा आएपछि सदरमुकामसँग सहज सम्पर्क हुने उहाँको भनाइ छ ।

मन्त्रीपरिषदको यो निर्णयसँगै सल्लेरी–लिखुपिके सडक विस्तारको बाटो खुला भएको र छिट्टै वन क्षेत्रको रुख कटान गरी सडक विस्तारको काम थाल्ने सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले बताउनुभयो । मेयर शेर्पाले भन्नुभयो, लामो समयदेखि वन कार्यालयको अवरोधका कारण बजेट विनियोजन भएपनि काम अघि बढाउन पाइएको थिएन । मेरै पहलमा वन क्षेत्र प्रयोगका लागि सरकारले स्विकृती दिने निर्णय गरेको छ, यो सुखद कुरा हा, अब लिखुपिकेलाई सल्लेरीसँग जोड्ने काम अघि बढ्छ ।

२०७७ फागुन २५ को सातौँ नगरसभाले टाक्टोर लामाजुरा सडकको ट्रयाकमा पर्ने रुख कटानका लागि सम्बन्धीत निकायमा अनुमति लिने निर्णय गरेअनुसार पहल गरेपछि सरकारले निर्णय गरेको मेयर शेर्पाले बताउनुभयो । सो वन क्षेत्रमा सडक खन्दा पर्ने प्रभाव मुल्याङ्कनका लागि नगरपालिकाकै अगुवाईमा वातावरण प्रभाव मूल्याङ्कन (इआइए) समेत तयार पारिएको थियो ।

अब साढे चार किलोमिटरको दुरीमा ट्रयाक खोल्न बाँकी रहेको बताइएको छ । चालु आर्थिक बर्षमा यो क्षेत्रको ट्रयाक ओपनको लागि ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । यसअघि सदरमुकामदेखि लामजुरासम्मको सडक विस्तारका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट आर्थिक बर्ष २०७६/७७ मा विनियोजित ५० लाख रुपियाँ र आर्थिक बर्ष २०७७/७८ मा विनियोजित २० लाख रूपियाँ रकमको काम भइसकेको छ ।

सिधा सडक नजोडिँदा लिखुपिकेका नागरिक आठ घण्टा भन्दन बढीको पैदल यात्राबाट सदरमुकाम सल्लेरी धाउनुपर्ने बाध्यता रहेको छ । सडक यात्राबाट सल्लेरी आइपुग्न रामेछापको मन्थली–खुर्कोट–घुुर्मी–ओखलढुङ्गा हुँदै गाडी रिजर्भ गर्नुपर्ने अवस्था छ । लिखुपिकेका नागरिक नागरिकता र राहदानी बनाउन सल्लेरी नै आउनुपर्छ । सदरमुकामसँग सडक जोडिन सकेको खण्डमा कम्तीमा पनि दुई घण्टामै सदरमुकाम पुग्न सकिने लिखुपिकेका स्थानीयहरु बताउछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार