झोला पाएपछि दुर्गमका विद्यार्थी उत्साहित


सन्तोष राउत/सोलुखुम्बु । कसरी झोला किन्ने भन्ने भइरहेका बेला निःशुल्क झोला पाउँदा धेरै खुशी भएकी छु, बल्ल अब किताब कापी सुरक्षित रुपमा बोक्न पाइने भयो –सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमको जनसेवा माध्यामिक विद्यालय गोपेको कक्षा ५ मा अध्ययनरत छात्रा अनिशा तामाङले पाठ्यपुस्तक बोक्ने झोला सहयोग पाएपछि खुशी व्यक्त गर्दै भन्नुभयो । बुबा नभएको र आर्थिक अवस्था समेत समान्य रहेकाले यस्तो सहयोगले पढाईलाई निरन्तरता दिन थप हौसला मिलेको उहाँले बताउनुभयो ।

विगतदेखि त्यसक्षेत्रको शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहयोग गर्दै आएको लोखिम सरोकार समाजले ३६२ जना विद्यार्थीहरुलाई निःशुल्क झोला वितरण गरेपछि तामाङलगायत दुर्गम गाउँमा धेरै समस्या झेल्दै विद्यालय जानु परेका विद्यार्थीहरु खुशी भएको बताउँछन् ।

समाजले जनसेवा मावि गोपेका १२१, जनता मावि लोखिमका १९९, पञ्चकन्या आधारभूत विद्यालयका १३ र जलकुण्ड आधारभूत विद्यालयका २९ गरी चार वटा विद्यालयका ३६२ जना विद्यार्थीहरुलाई पाठ्यपुस्तकलगायत शैक्षिक सामग्री बोक्न झोला वितरण गरेको हो ।

दुर्गमका अधिकाँस विद्यालयमा आर्थिकस्तर कमजोर भएका, अभिभावक नभएका विद्यार्थीहरु अध्ययन गर्न आउने भएकाले यस्ता सहयोगले शैक्षिक सामग्रीहरु सुरक्षित रुपमा बोक्न सहज तथा प्रभावकारी भएको जनसेवा माध्यामिक विद्यालयका प्रधानाध्यापक गोकुलबहादुर खुलालले बताउनुभयो । झोला पाएपछि विद्यार्थीहरु विद्यालय आउन झनै उत्साहित भएको उहाँको भनाइ छ ।

लोखिम सरोकार समाज सबै लोखिमबासीको सुखदुःखमा साथ दिन स्थापना भएको सामाजिक संस्था भएको भन्दै समाजका अध्यक्ष गेल्जेन शेर्पाले आफ्नो गाउँघरमा सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । अध्यक्ष शेर्पाले समाज मार्फत यसअघि लोखिमकै दुई जना मेरुदण्ड भाँचिएका विरामीलाई उपचारमा सहयोग गरेको र एकजना मृगौला फेल भएकालाई डाइलासिसमा सहयोग गरेको बताउनुभयो ।

झोला वितरणका लागि अमेरकिा बस्ने स्थानीय ल्हाक्पा शेर्पाले ७० हजार ४७९ रुपियाँ, ओङ्छु शेर्पाले १५ हजार रुपियाँ सहयोग गर्नुभएको र बाँकी रकम संस्थाले लगानी गरेको कोषाध्यक्ष चर्णकुमारी राईले जानकारी दिनुभयो । सहयोगका लागि वडाध्यक्ष भूपालसिंह राई, चार वटै विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा अभिभावकहरुले खुशी हुँदै धन्यबाद व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार