साढे दस हजारले गराए आँखा उपचार

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको फाप्लुमा सञ्चालित जिल्ला सामुदायिक आँखा केन्द्रबाट एक बर्षमा साढे दस हजार भन्दा बढीले आँखाको विभिन्न रोगको उपचार गारएका छन् । सन् २०२१ मा दस हजार सात सय ५२ जनाले आँखा जाँच तथा उपचार गराएको केन्द्रका प्रमुख पुष्पबाबु बस्नेतले जानकारी दिनुभयो ।

यस क्रममा जिल्ला सामुदायिक आँखा केन्द फाप्लुबाट चार हजार तीन सय जना, ग्रामीण आँखा केन्द्र मार्फत एक हजार ३९५ जना र सामुदायिक आँखा शिविरमार्फत चार हजार ५४७ जनाले सेवा लिएको कार्यालयको तथ्याङ्क रहेको छ । त्यस्तै, आँखा शिबिरबाट एक हजार १०४ जनाले शल्यक्रिया र ५८२ जनाले स्वयम्सेविकामार्फत सेवा लिएका छन् ।

यस अवधिमा जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा १२४ जनाको सामान्य शल्यक्रिया र आँखाको नानीबाट फोहोर निकालिएको छ भने फाप्लु, जाल्पा र खुन्देमा सञ्चालित शल्यक्रिया शिविरबाट २५६ जनाको मोतियाबिन्दु र अन्य छ जनाको गरी २६२ जनाको शल्यक्रिया गरिएको केन्द्रका प्रमुख बस्नेतले बताउनुभयो ।

त्यस्तै, विद्यालय आँखा जाँचबाट पनि धेरैले सेवा लिएका छन् । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले सोलुदूधकुण्ड नगरपालिकाभित्रका विद्यालयका ७२ जना शिक्षकहरुलाई आधारभूत आँखा उपचार तालिम र ८१ जना स्वयम्सेविकाहरुलाइ पुनर्ताजगी तालिम प्रदान गरिएको केन्द्रले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा आँखा शिविर सञ्चालन हुँदा अन्यत्र अस्पतालमा गएर उपचार गराउन नसकेका आर्थिक अवस्था कमजोर भएका बृद्धबृद्धाहरुलाई ठूलो राहत पुगेको बताइएको छ । केन्द्र मार्फत गाउँ गाउँमा भएका शिविरहरुबाट दुई वर्ष भन्दा बढी समयसम्म दुवै आँखाको ज्योती गुमाएका धेरै सर्वसाधारणले पुनज्र्योती पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार