होलीमा रङ खेल्दा होश गरौँ

बिहीबार उल्लासमय वातावरणमा होली पर्व मनाइँदैछ । होली हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन मनाइन्छ । हिमाली र पहाडी जिल्लामा फागुपर्व चैत ३ र तराई मधेसका जिल्लामा चैत ४ गते मनाइँदैछ ।

यस दिनमा आफन्त तथा मन मिलेका साथीबीच प्राकृतिक रूपको अबिर तथा पानीको पिच्कारी एक आपसमा छ्यापाछ्याप गरिन्छ । होलीकै अवसरमा बुधबार पशुपतिनाथलाई बिहानै भक्तजनले लोला प्रहार गरेर अबिर चढाएका छन् । होली गीतमा खुलेर हास्ने र रङ छ्यापाछ्याप गरेर मन साट्ने हुँदा यस पर्वलाई युवाले नेपाली ‘भ्यालेन्टाइन्स डे’ सप्ताहका रूपमा पनि लिने गरेका छन् । कतिपयले यस दिनलाई बिग्रिएको सम्बन्ध सुधार्ने अवसरका रूपमा पनि सदुपयोग गर्छन् ।

राजधानीमा रङ किन्दै गर्दा भेटिनुभएका अभी सुवालले होली पर्व मनाउनकै लागि डेनमार्कबाट नेपाल आएको बताउनुभयो । उहाँले भन्नुभयो, “गत चार वर्षदेखि नेपालमा होली पर्व मनाउन पाएको थिइनँ । यस वर्ष धूमधामसँग मनाउने योजना बनाएको छु ।” यो वर्ष कोरोनाको डर पनि कम भएकाले होली मनाउन सहज भएको उहाँको अनुभव छ ।

होलीकै कारण यतिखेर व्यापारीलाई पनि रङ बेच्न भ्याइनभ्याइ छ । सडकमा मौसम र पर्वअनुसार २० वर्षदेखि सामान बेच्दै आउनुभएका असनका व्यापारी राममाया तुलाधरले होलीको रौनक यो वर्ष राम्रै भएको जानकारी दिनुभयो । कोरोनाका कारण विगतमा व्यापार ठप्प भए पनि अहिले राम्रो भएको उहाँले बताउनुभयो ।

रङ खेल्दा के गर्ने ? के नगर्ने ?
यो पर्व मनाउँदा आफ्नो छाला तथा कपाललाई सुरक्षित राख्नुपर्ने छाला रोग विशेषज्ञहरूको भनाइ छ । छाला रोग विशेषज्ञ धर्मेन्द्र कर्णले भन्नुभयो, “होली खेल्नुअघि सम्पूर्ण शरीरमा राम्ररी लोसन वा मोइस्चराइजर लगाउनुपर्छ । यो काम होली खेल्नुभन्दा कम्तीमा एक घण्टा अगाडि गर्नुपर्छ ।” त्यसपछि होली खेल्नु १० मिनेटअघि लोसन वा मोइस्चराइजरको प्रयोग गरेर मात्र खेल्नुपर्छ ।

यसैगरी केमिकल्सयुक्त रङबाट बच्न छालामा नरिवल वा तोरीको तेलको प्रयोग गर्न सकिन्छ । होलीमा रङ खेल्नुअघि अनुहार तथा हातखुट्टामा तिलको तेल प्रयोग गर्न सकिन्छ । यसले छालालाई सुरक्षा प्रदान गर्छ र छालामा रङ बस्न दिँदैन । होलीमा रङ खेल्दा अनुहारमा रङ लाग्ने गर्दछ । यस्तो रङ पखाल्नका लागि छालामा साबुनको प्रयोग गर्न नहुने कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार, रङ निकाल्न छाला बेस्सरी रगड्नु

हुँदैन । रङ गएन भने आत्तिएर छालामा विभिन्न किसिमका सामग्री प्रयोग गर्न नहुने उहाँको सुुझाव छ । भगवान् विष्णुभक्त प्रल्हादलाई मार्न विष्णुका विरोधी दुष्ट हिरण्यकश्यपुले होलिकाको काखमा राखेर आगोमा होम्दा होलिका मरेकी तर प्रल्हाद जीवित रहेको पौराणिक कथन यो पर्वसँग जोडिएको छ । होली सुरु भएको सङ्केतका रूपमा एक साताअघि नै वसन्तपुर गद्दी बैठकको दक्षिण पटाङ्गिनीमा चीर ठड्याइएको थियो ।

काठमाडौँको धलासिक्वका मानन्धर समूहले परम्पराअनुसार नागार्जुन वनबाट ल्याइएको हरियो बाँसमा रङ्गीबिरङ्गी ध्वजासहित चीर ठड्याएका थिए । यो दिनबाटै फागुपर्वको उल्लास सुरु भएको मानिन्छ ।

यसैगरी हनुमानढोका दरबारस्थित नासलचोक, मोहनकाली चोक लुँह चोक र दाखः चोकमा पनि मयलका ससाना हाँगामा ध्वजा फहराएर चीर गाडिएको छ । यो चीरका लागि पशुपति श्लेषमान्तक वनबाट मयलका रुखका हाँगा ल्याइएको थियो ।

नेपाली सेनाको शार्दुल जङ गुल्मको टोली धलासिक्वका मानन्धर समूह र गुठी संस्थानका अधिकारीको उपस्थितिमा दरबारका यत्रतत्र चोकमा चीर ठड्याइएको छ । यो चीर बिहीबार मध्यरातमा ढालेपछि पर्व समापन हुन्छ ।

यो बीचमा गुरुमापा नामको राक्षसका लागि टुँडिखेलमा एकमुरी भात र एउटा सिङ्गो राँगोको भतेर लगाइने प्रचलन छ । इटुम्बहालको केशचन्द्रकृत परावर्त महाविहारको बासङ्घमा भात र मासु पकाउन चुल्हो तयार भएको सङ्घका सहकोषाध्यक्ष प्रेमकाजी शाक्यले जानकारी दिनुभयो ।

किलागल टोलका बिज्यापू समुदायबाट यो भोजन तयार हुने र खर्पनमा राखेर कतै नरोकी काँधमा बोकेर भतेर टुँडिखेल लैजाने प्रचलन छ । भगवान् श्रीकृष्णको गोपिनीसँगको सान्निध्यताको प्रसङ्ग चीरसँग जोडिएको छ । श्रीपञ्चमीका दिन वसन्त श्रवण गर्दा रतिदेवको अर्चना भएपछि फाल्गुन शुक्ल अष्टमीमा चीर गाडेर भगवान् श्रीकृष्णको गोपिनीसँगको प्रेमभावको संस्मरण गर्ने प्रचलन यो पर्वसँग छ ।

हनुमानढोका दरबार हेरचाह अड्डाका पर्वपूजा संयोजक मीठाराम पुडासैनीका अनुसार नासलचोकमा भगवान् कृष्ण र गोपिनीबीच रसरङ्गको भाव रहेको मूर्ति राखेर चीर गाडिएको छ, मङ्गलबार राति यी चीर दहन हुन्छ ।-गोरखापत्र/सरोज आचार्य/यलु जोशी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार