सगरमाथामा बाटो बनाउन आइसफल डाक्टरको टोली आधार शिविरतर्फ

सोलुखुम्बु विश्वको सर्वोच्च शिखर सगरमाथाको ‘स्प्रिङ’ सिजनको आरोहणका लागि बाटो बनाउन आइसफल डाक्टरहरूको टोली आधार शिविर प्रस्थान गरेको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेबाट ६ जनाको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

टोलीमा ६ जना आइसफल डाक्टरहरूको टोली छ भने अन्य ३ जना रहेका छन् । सगरमाथा आरोहणको सिजन सुरु हुन लाग्दा आइसफल डाक्टर सहितको टोली बाटो निर्माणका लागि गएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) नाम्चेकी सूचना अधिकारी याङ्जीडोमा शेर्पाले जानकारी दिनुभयो ।

हिउँमा बाटो बनाउने अनुभवी र दक्ष व्यक्तिलाई आइसफल डाक्टर भन्ने गरिन्छ । यस वर्ष आङसर्की शेर्पाको नेतृत्वमा बाटो बन्न लागेको हो । वर्षौँ अघिदेखि सगरमाथाको बाटो बनाउने काम सरकारले एसपीसीसीलाई जिम्मा दिने गरेको छ ।

केही समययता कोरोना कहरका कारण आरोहण ठप्प भएपछि खुम्बु सुनसान बनेको छ । हरेक बर्ष हिउँ परेर बिग्रिएको पुरानो बाटो पहिल्याउँदै नयाँ बाटो निर्माण गर्ने गरिन्छ । आइसफल डाक्टरहरूले आल्मुनियमका भर्‍याङ जोडेर सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो निर्माण गर्नेछन् । क्याम्प–२ सम्म खर्पसमा हिउँ जम्मा भएको बाटो सफा गर्ने, डारी टाँग्ने र भर्‍याङ राख्ने काम गरेपछि मात्र आरोही सगरमाथाको चुचुरोसम्म पुग्न सक्छन् ।

५ हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरबाट ५ हजार ४०० मिटरसम्म उचाइको क्याम्प दुईसम्म दर्जनौँ सानाठूला हिम खाल्डा रहेका छन् । क्याम्प दुईभन्दा तल धेरै खाल्डा भएकाले बाटो बनाउने धेरै काम गर्नुपर्छ । क्याम्प दुईमाथि हिम खाल्डा खासै छैनन् । क्याम्प दुईभन्दा माथिका लागि बाटो खोल्ने तथा डोरी बाँध्ने काम आरोहण टोलीका प्राविधिकहरूले गर्छन् ।

पदमार्ग निर्माण कार्य निकै जोखिमपूर्ण हुने भएकाले आधार शिविरमा बौद्ध धर्म परम्परा अनुसार लामाबाट पूजापाठ गरी सुरु काम सुरु गर्ने परम्परा रहेको छ । प्रत्येक बर्ष ‘अक्टोबर’ र ‘स्प्रिङ’ दुवै सिजनमा यही परम्पराअनुसार काम सुरु गरिन्छ । बाटो बनाउने क्रममा कुनै विपत आई नलागोस्, सकुशल फर्कन पाऊँ, भगावानले रक्षा गरुन् र हिमाल आरोहण गर्ने आरोहीहरूमा कुनै पनि दुर्घटना नभई यात्रा सफल होस् भन्ने उद्देश्यले पूजा गरेर बाटो निर्माण थाल्ने गरिन्छ ।

यस क्षेत्रमा बाटो बनाउने काम तालिम प्राप्त आइसफल डाक्टरहरूले मात्र गर्ने भएकाले अन्य श्रमिकहरूको खासै काम नहुने बताइएको छ । वर्षौँदेखि आइसफल डाक्टरको रुपमा काम गर्ने शेर्पाहरू ज्यान जोखिममा राखेर बाटो बनाउने गर्दछन् ।

हिमाल आरोहण गर्ने बाटो, हिउँ र बरफ खनेर डोरीको सहायताबाट निर्माण गर्नुपर्ने भएकाले ज्यान माया मारेर बनाउनुपर्ने आइसफल डाक्टरहरू बताउँछन् । हिम पहिरो चलेमा बनाएको बाटो बिगार्ने भएकाले एकै स्थानमा पटक पटक बाटो बनाउनु पर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार