नेपालको वर्तमान राजनीति !

गंगाबहादुर राई

गंगाबहादुर राई/मलाई के लाग्दछ भने राजनीतिमा शत्रु हुदैनन्, राजनीतिक दलहरु भन्नू त समाजमा समृद्धि ल्याउने कर्ताहरु मात्रै हुन् । वि. सं. २०४७ साल माघ ३ गते विराटनगरको आमसभालाई सम्बोधन गर्दै मदन भण्डारीले नेपाली कांग्रेसको राजनीतिक कदमहरुको प्रशंसा गर्दै धन्यवाद दिएका थिए । फरक राजनीतिक आस्था हुँदाहुँदै पनि उनले त्यसो गरे किनकि उनीहरु सामुहिक स्वार्थको लागि राजनीति गर्दै थिए ।
विश्वेश्वरप्रसाद कोइरालाका पिता कृष्णप्रसाद कोइरालालाई प्रवासमा रहँदा परस्पर विरोधी भए पनि राणा प्रधानमन्त्री चन्द्रशमशेर कृष्णप्रसादका लागि आवश्यक औषधी र अध्ययनका लागि पुस्तक र पत्रिकाहरु नेपालबाट भारत पठाउने गर्थे किनकी उनलाई थाहा थियो यिनी व्यक्तिगत स्वार्थका मानिस होइनन् सामुहिक भावनाका मानिस हुन् ।(स्रोतःविश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त)

यो उदाहरण किन म यहाँ दिन गैरहेको छु भने राजनीतिमा बाटो अलग भए पनि गन्तब्य एउटै हुन्छ र असल गन्तव्य भए विरोधीहरु पनि आफ्नो मुद्दामा आधारभूत रुपमा सहमत हुन्छन् तर अहिलेका राजनीतिक दलहरु र उक्त दलका नेताहरु आफैं अन्योलको भुमरीमा जकडिएको भान हुन्छ । कुनै पनि राजनीतिक मुद्दामा र सामुहिक स्वार्थमा नेतृत्व तह स्पष्ट भए राजनीतिले तय गरेको मार्गको बारे आधारभूत रुपमा सहमत हुन्छन् तर वर्तमान सन्दर्भमा त्यसो हुन सकिरहेको छैन, कतै आन्तरिक पार्टीको विवाद छ त कतै अन्तर पार्टीहरु(साझा बाटो तय गर्छौं भन्ने पार्टीहरु)को बीचमा ।

यसले के स्पष्ट गर्छ भने यिनीहरु राजनीतिक रुपमा परिपक्व छैनन्, राजनीतिमा नैतिकता र जवाफदेहिताको कमी छ, अध्ययनको कमी छ, राजनीतिक संस्कारको कमी छ, सामुहिक स्वार्थको इरादामा खोट छ, भ्रष्टाचारप्रति शुन्य सहनशीलता भन्ने नारामा सचेत छैनन् । नेताहरु निष्ठाको राजनीति गर्दैनन् र आफ्नो प्रचारको लागि मात्र राजनीति गर्छन् ।

यसले के पनि देखाँउछ भने राजनीति गर्न एउटा फरक क्षमता चाहिन्छ, मानिसहरुको हुल पछि लाग्दैमा नेता हुन सकिन्न । आजको विकृत राजनीतिले हाम्रो साझा भविष्य निर्माण गर्दैन र गर्न सक्दैन । बहुमतले स्थायी सरकार बनाउँदैमा समृद्धि आउने भए तत्कालीन नेकपाले आज देशलाई स्वार्ग बनाईसक्थ्यो । तर कुरा के भने राष्ट्र निर्माण गर्न आजकै राजनीतिक दलहरु काफी छन् तर तिनको नेतृत्व तहमा भने व्यापक परिवर्तन आउनुपर्छ, तिनीहरुको सोचमा परिवर्तन आउनुपर्छ अनि आम नागरिकहरुको चेतनास्तर माथी उठ्नुपर्छ । यसो हुन सकेन भने आम जनताका लागि “जुन जोगी आए पनि कान चिरेका“ भन्ने नेपाली उक्ती सत्य सावित हुने सिवाय अरु केही हुनेवाला छैन।

लेखक राई सोलुखुम्बु बहुमुखी क्याम्पसका उपप्राध्यापक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार