के हाे छालाकाे एलर्जी ?

हामी सबैले सुन्दै आएको शब्द हो, एलर्जी । सामान्यतः छालामा आउने समस्यालाई हामीले एलर्जीका रुपमा बुझ्छौं । यो जुनसुकै उमेरसमूहका मानिसलाई पनि हुने गर्छ । अध्ययनका अनुसार जीवनमा एक पटक जो कोही व्यक्तिलाई पनि एलर्जी हुने हुन्छ । सामान्य रुपमा लिइने एलर्जीलाई हेलचेक्राई गरियो भने ज्यान पनि लिन सक्ने चिकित्सक बताउँछन् ।

अध्ययनका अनुसार वयष्कमा भन्दा बालबालिकाहरुमा बढी एलर्जी हुने देखाएको छ । बालबालिकामा पाँच जनामध्ये एक जनामा छालाको एलर्जी हुन्छ भने वयष्कको हकमा ५० जनामध्ये एक जनामा एलर्जी हुने गरेको अध्ययनबाट देखिन्छ । अमेरिकन कलेज अफ एलर्जी, आस्थामा र इम्यूनोलोजीको रिपोर्ट अनुसार विश्वमा १० देखि २० प्रतिशत बालबालिकामा एलर्जी हुन्छ भने १ देखि ३ प्रतिशत वयष्कमा पनि यो रोग देखिन्छ ।

एलर्जी विभिन्न कारणले हुने चिकित्सक बताउँछन् । मानिसको छाला अनुसार एलर्जी पनि फरक फरक हुने चिकित्सक बताउँछन् । वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा सन्जुबाबु श्रेष्ठका अनुसार खाना, धुलो, फुलको कण, बनस्पतिको पात र किराको टोकाईलगायतबाट एलर्जी हुन्छ । एलर्जी शरीरको जुनसुकै भागमा हुने भएपनि खुला भागमा बढी एलर्जी देखिने डा श्रेष्ठ बताउनुहुन्छ ।

पछिल्लो समय छालामा आउने सबै समस्यालाई एलर्जीका रुपमा लिने प्रवृत्ति बढ्दै गएको छ तर सबै डाबर आउने समस्या एलर्जी नभएको चिकित्सक बताउँछन्। एलर्जी हुँदा सुरुमा साना साना डाबर आउँछन्, बिस्तारै डाबर बढ्दै गएर ठूलो भागमा फैलिने गर्दछन् । ‘यदि हेलचेक्राई गरेमा बिरामीको मृत्युसम्म हुनसक्छ,’ डा श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार छालामा रातो डाबर आउने, धेरै चिलाउने र शरीरभर फैलने समस्या छालाको एलर्जीको मुख्य लक्षणहरु हुन् । श्रेष्ठ भन्नुहुन्छ,“ एलर्जी हुँदा छाला सुख्खा हुन्छ, यदि त्यो सुख्खा ठाउँमा धेरै चिलायो भने त्यो ठाउँमा घाउ हुन्छ ।”

 छालाको एलर्जी के हो ? 

छालाको एलर्जीलाई आमभाषामा जाबे भन्ने गरिन्छ । धेरै व्यक्तिमा छालाको समस्या एलर्जी हो । चिकित्सकका अनुसार एलर्जी शरीरको जुनसुकै भागमा आउने भए पनि कपडाले नछोपिने ठाउँमा बढी एलर्जी आउने गर्छ । कुनै कुरा छोएर आउने छालाको फोकालाई पनि एलर्जी भनिन्छ । एलर्जी छालामा स–साना डाबर आउने गर्दछन् । चिलाउँदै गएपछि बिस्तारै बढ्दै जान्छन् । एलर्जी भनेको कुनै पनि खानेकुरा वा पद्धार्थबाट हुने प्रतिक्रिया भएको डा. श्रेष्ठ बताउनुहुन्छ ।

“कुनै पनि चिजको सम्पर्कमा आउनेबित्तिकै शरीरमा उल्टो असर देखिने अवस्था नै एलर्जी हो,” उहाँ भन्नुहुन्छ, “एलर्जी तब हुने गर्छ, जब शरीरले कुनै कुराप्रति तत्काल प्रतिक्रिया जनाउँछ । शरीरमा एलर्जी पैदा गर्ने पद्धार्थलाई एलर्जन भन्ने गरिन्छ, जुन शरीरभन्दा बाहिरका बस्तुबाट बन्छ ।” एलर्जी हुनुको मुख्य कारण चिकित्सकका अनुसार विभिन्न किसिमको धातु, वनस्पति, दूध वा रसायनका कारण पनि मानिसलाई एलर्जी हुने गर्दछ ।

मानिसलाई फूलको पराग, धुँवाधुलो, जनावरको रौंका कारणले एलर्जी हुन्छ । धेरै प्रोटिन भएका माछामासु, दूधजन्य परिकार, अण्डाजस्ता खाद्यान्नका कारण पनि एलर्जी हुनसक्छ । “लामखुट्टे, उडुसजस्ता कीराहरुले टोकेमा पनि एलर्जी हुने गर्दछ । सरसफाईको कमी, सौन्दर्यका साधनको प्रयोग, औषधिको साइडइफेक्ट्स तथा छाला सुख्खा भएमा पनि एलर्जी हुने गर्दछ,” चिकित्सक श्रेष्ठले भन्नुभयो ।

किन हुन्छ एलर्जी ? 

बाहिरी वातावरणमा धेरै प्रकारका रसायन र प्रदुषण छन् । प्रदुषण र रसायनमको छालामा सम्पर्क भएपछि शरीरबाट हिस्टामिन भन्ने तत्व विकास हुन्छ । “एलर्जीमा हुने ‘मास्ट’ सेलभित्र हिस्टामिन नामक रसायन हुन्छ। हिस्टामिन मास्ट सेलबाट छुटेर बाहिर निस्कियो भने जुन भागमा पुग्यो, त्यहीँ एलर्जी हुन्छ । मास सेल सबैभन्दा बढी छालामा हुन्छ । त्यसपछि नाक, घाँटी, आन्द्रा, श्वास–प्रश्वास नली, आँखा, पाठेघर तथा योनीमा हुन्छ”श्रेष्ठले बताउनुभयो ।

चिकित्सकका अनुसार छालामा एलर्जी भयो भने चिलाएर डाबर आउने, नाकमा भयो भने हाछ्यूँ आउने, श्वास नलीमा भए खोकी र दम हुने, छालामा भए चिलाएर डाबर आउने र आँखामा एलर्जी भए आँसु आउने हुन्छ ।

यीमध्ये सबैभन्दा बढी फोक्सोमा हुन्छ, जसका कारण जुन एलर्जीको कारण श्वास फेर्न गाह्रो हुन्छ । पहिचान छालामा आउने सबै डाबर वा चिलाउने समस्या एलर्जीको कारणले गर्दा नहुन पनि सक्छ । दीर्घरोगी जस्तै किड्नी, कलेजो, मुटु, हेपटाइटीस र मधुमेहका रोगीहरुलाई चिलाउने समस्या आउन सक्छ । त्यसैले चिकित्सकले सुरुमा कुनै दीर्घरोगको समस्या छ कि छैन भनेर विरामीलाई हेर्नुपर्छ ।

कहिलेकाँही खानेकुरा, कीराको टोकाइ, कुनै धातुको प्रयोगले एलर्जी हुने गर्दछ । छालाको एलर्जी रगतको जाँच गरे पनि पत्ता लगाउन सकिन्छ । कुनै बेला एलर्जीक टेस्ट गरे पनि के कारणले गर्दा एलर्जी भएको भन्ने पहिचान हुने चिकित्सक श्रेष्ठ बताउनुहुन्छ । उपचार सुरुमा एलर्जी हुनुको कारण पत्ता लगाउनुपर्छ । त्यसपछि मात्रै एलर्जीको उपचारमा सहज हुने चिकित्सक बताउँछन् ।

पहिलोपटक एलर्जी भएको हो भने उपचारले निको हुन सक्छ । तर, क्रोनिक एलर्जी छ भने निको नहुने र पछिसम्म पनि औषधि खाएर बस्नु पर्नेहुन्छ । त्यसकारण जुन कुराबाट एलर्जी हुन्छ, त्यो कुराबाट टाढा बस्दा यो समस्याबाट छुट्कारा पाउन सकिन्छ । तर कतिपय अवस्थामा के कारणले एलर्जी भयो भन्ने कुरामा थाहा हुँदैन । गोरखापत्र दैनिकबाट।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार