सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बुझ्ने नागरिकलाई फलफूल लगायतका सामाग्री खरिदका लागि हरेक चौमासिकमा एक हजार रुपियाँ थप प्रदान गर्ने भएको छ ।
यस्तो भत्ता पाउनेमा जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित बालबालिका पर्दछन् । नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराएपछि अध्यक्ष खिलाराज बस्नेतले पहिलो कार्यपालिका बैठक राखेर यस्तो निर्णय गर्नुभएको हो ।
७० बर्ष माथीका जेष्ठ नागरिकको पहिचान गरी घरैमा स्वास्थ्य सेवा उपलब्ध गराउने, गरिब परिवार पहिचान गरी प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीबाट निःशुल्क उपचारको व्यवस्था गर्ने र रेफर गरिएका जटिल विरामीलाई यातायात खर्च १० हजार रुपियाँ प्रदान गर्ने लगायतको निर्णय गरिएको पालिका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । ज्येष्ठ नागरिक समाजको अभिन्न अङ्ग भएकाले उहाँहरुको स्वास्थ्य तथा सामाजिक सुरक्षामा पालिकाले विशेष ध्यान दिने अध्यक्ष बस्नेको भनाइ छ ।
निर्वाचनको समयमा भएको झडपपछि उपचारका क्रममा ज्यान गुमाएका सुदिप राईको मृत्युप्रति दुःख व्यक्त गर्दै मृतकका बालबालिकालाई निःशुल्क शिक्षा आर्जनको व्यवस्था मिलाउने समेत निर्णय उक्त बैठकले गरेको छ ।