पर्यटन विकास र प्रचारका लागि गाउँपालिकाको लोगो सगरमाथाको शिखरमा

सन्तोष राउत/सोलुखुम्बु । पर्यटन विकास र प्रचारका लागि सोलुखुम्बुको महाकुलुङ गाउँपालिकको लोगो विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ । सगरमाथा आरोही पासाङओङ्छु शेर्पाले सगरमाथाको चुचुरोमा पाइला टेक्दै महाकुलुङ गाउँपालिकको प्रतिक लोगो सगरमाथामा फहराउनु भएको हो ।

अन्तर्राष्ट्रिय माउन्टेन गाइड शेर्पाले यस सिजनमा महाकुलुङ गाउँपालिकाको लोगो अङ्कित झण्डा पहिलो पटक सगरमाथाको शिखरमा पुर्याउनुभएको हो । महाकुलुङ गाउँपालिका कार्यालयको झण्डा सगरमाथाको चुचुरोमा पुर्याउने साहसी कार्यप्रति उच्च सम्मान सहित गाउँपालिकका नव नवनिर्वाचित अध्यक्ष सुर्यबहादुर कुलुङले शेर्पालाई धन्यवाद दिँदै खुशी व्यक्त गर्नुभएको छ ।

शेर्पालाई महकुलुङ गाउँपालिकाको कार्यपालिक बैठकद्वारा उक्त साहसी कार्यको उच्च सम्मान सहित धन्यवाद दिइएको छ । महाकुलुङ गाउँपालिका–१ चेरेमका शेपाले यसअघि सगरमाथा नौ पटक, मनास्लु पाँच पटक, मकालु एक पटक, आमदब्लम चार पटक, लोहोत्से तीन पटक तथा अन्य साना दर्जनौँ हिमालहरु पनि सफल आरोहण गरिसक्नुभएको छ ।

यस कार्यले तल्लो सोलु तथा महाकुलुङ क्षेत्रको पर्यटन विकास र प्रचारका लागि सहयोग पुग्ने स्थानीय फुरलाक्पा शेर्पाले बताउनुभयो । अनेकौँ सम्भावनाहरु रहेको यस क्षेत्रमा प्रचारप्रसारकै अभावमा पर्यटकीय क्षेत्रहरु ओझेलमा परेको उहाँको भनाइ छ ।

उहाँले महाकुलुङ गाउँपालिकाको समग्र पर्यटन विकास र पर्यटन प्रचार प्रसारका लागि आफ्नो गाउँपालिकाको झण्डा सगरमाथाको चुचुरोमा फहराएको बताउनुयो । धेरैवटा देसको भ्रमण गरिसक्नुभएका शेर्पाले नेपालनै संसारकै सुन्दर ठाँउ भएको बताउनुभयो । महाकुलुङ गाउँपलिकमा पर्यटनको सम्भावना रहेका ठाँउहरु थुप्रै भएकाले प्रचारप्रसार गरी पर्यटन विकास लागि गाउँपालिकको झण्डा सगरमाथाको शिखरमा पुर्याएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार