तालमेल भएका सहरमा बढी बदर

गाउँभन्दा सहरमा शिक्षित जनसङ्ख्याको बसोबास र मतदाता शिक्षाका कार्यक्रममा पहुँच बढी हुने विश्वास गरिए पनि बदर मतको स्थिति भने ठीक विपरीत पाइएको छ । स्थानीय तह निर्वाचन २०७९ मा गाउँभन्दा सहरमा बदर मत बढी खसेको छ । त्योभन्दा पनि दलहरूबीच तालमेल भएका सहरमा सबैभन्दा बढी मत बदर भएको पाइएको छ ।

निर्वाचन आयोगले दलहरूका कारण बदर मत बढी भएको दाबी गरेको छ तर आयोगका पूर्वपदाधिकारी भने आयोगकै कमजोरीले बदर मत बढेको बताउँछन् ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले गाउँभन्दा सहरमा मत बढी बदर भएका कारण खुलाउँदै भन्नुभयो, “हेलचेक्र्याइँ वा मतदान गर्न अनिच्छुक वा मतदाताले विकल्प नपाएर मत बदर गरेको हुनसक्छ ।” यद्यपि उहाँले दलहरूबीच हुने चुनावी तालमेललाई मतदाताले मतदानको क्रममा ध्यान नदिएको वा नबुझेकाले समेत सहरमा बदर मत बढेको दाबी गर्नुभयो ।

तर पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले चुनावी तालमेलभन्दा पनि मतपत्रको डिजाइनले मत बदर बढेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “आफूले मत हाल्न खोजेको चुनाव चिह्न छरिएर रहँदा अलमलिन गई मत बदर हुने सम्भावना बढी हुन्छ ।”

बाजुराको बूढीगङ्गा नगरपालिकाबाहेक ७५२ पालिकामा गत वैशाख ३० गते मतदान भएको थियो । निर्वाचनमा सङ्घीय राजधानी सहर काठमाडौँसहित छ महानगरपालिकामा उपप्रमुख पदमा मात्रै बदर मतको औसत प्रतिशत २७.४३ छ । पोखरामा वडा अध्यक्षबाहेक छवटै महानगरपालिकाको सबै पदमा दस प्रतिशतभन्दा बढी नै मत बदर छ । पूर्ण बदर मत सहरी क्षेत्रमा कम देखिए पनि आंशिक बदर मतको प्रतिशत बढी छ ।

वीरगञ्ज र विराटनगर महानगरपालिकामा उपप्रमुखमा सबैभन्दा बढी मत बदर छ । वीरगञ्जको उपप्रमुख पदमा खसेको कुल मतको ४६.६६ प्रतिशत बदर मत छ । यहाँ सत्ता साझेदार पाँच दल र प्रतिपक्षमा रहेको नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल भएको थियो ।

उम्मेदवार कम हुने र मतपत्र सरल भएका ग्रामीण क्षेत्रमा भने बदर मत अपेक्षाकृत कम छ तर मतपत्र मात्रकै कारणले सहरमा बढी बदर र गाउँमा कम बदर भन्न नहुने जिकिर गर्दै पूर्वप्रमुख आयुक्त उप्रेतीले भन्नुभयो, “मतदाता शिक्षामा निर्वाचन पिच्छे नै आएको बदलावले समेत मत बदर बढी भएको हो ।”

शिक्षित जनसङ्ख्या कम हुने र मतदाता शिक्षा पहुँचमा समस्या हुने हिमाली तथा पहाडी जिल्लाको ग्रामीण क्षेत्रमा बदर मतको प्रतिशत अपेक्षाकृत कम छ । त्यस्ता ग्रामीण क्षेत्रमा बदर मत कम रहेकोबारे प्रवक्ता पौडेल भन्नुहुन्छ, “मतदाता कम हुन्छ, उम्मेदवारले आफैँले पनि हरेक वडाका हरेक व्यक्तिसम्म पुगेर मतदान गर्न सिकाएका छन् ।”

करिब तीन लाख मत पूर्ण बदर

स्थानीय निर्वाचनमा देशभरि खसेको कुल मतको २.४० प्रतिशत मत पूर्ण बदर भएको छ । कुल एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेकोमा करिब एक करोड २५ लाख ८३ हजार मतदान भएको थियो । निर्वाचन आयोगका अनुसार करिब तीन लाख दुई हजार मत पूर्ण बदर भएको हो ।

आयोगका अनुसार लुम्बिनीमा २.७१, कर्णालीमा २.७३, सुदूरपश्चिममा २.९३ र मधेश प्रदेशमा २.७० प्रतिशत मत पूर्ण बदर भएका छन् । प्रदेश १ मा २.२५, बागमतीमा १.९५ र गण्डकीमा १.७७ प्रतिशत मत पूर्ण बदर छन् । बागमती र प्रदेश १ मा आंशिक बदर मतको प्रतिशत अन्य प्रदेशको तुलना बढी छ । बागमतीमा १२.६५ र प्रदेश १ मा १२.८५ प्रतिशत मत आंशिक बदर छ ।

आयोगका पूर्वप्रमुख आयुक्त उप्रेतीले समग्रमा दुईदेखि तीन प्रतिशत बदर हुनुलाई सन्तोषजनक नै भन्नुपर्ने बताउनुभयो । यद्यपि उहाँले सुधारको आवश्यकता रहेको ठम्याउनुभयो तर आंशिक बदर १३ प्रतिशत हुनु चिन्ताजनक रहेको र मतदाता शिक्षा, मतदान प्रणालीमा ‘ब्रेक थ्रु’ गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । सहायक प्रवक्ता अर्यालले यस्तो अवस्थामा दलहरूले नै मतदाता शिक्षामा बढी जिम्मेवार हुनुुपर्ने उहाँले तर्क गर्नुभयो । यो समाचार गोरखापत्र दैनिकमा ईश्वरचन्द्र झाले लेख्नुभएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार