सन्तोष राउत/सोलुखुम्बु । विभिन्न रोगको उपचार तथा औषधी गाउँघरमै निःशुल्क रुपमा प्राप्त भएपछि गार्माका नागरिकहरु खुसी भएका छन् । स्थानीय लकु शेर्पाले भन्नुभयो, अस्पतालसम्म टाढा धाएर जानुपर्ने अवस्थामा गाउँमै चेकजाँच गरी निःशुल्क औषधी समेत पाउँदा खुशी लागेको छ । उहाँजस्ता धेरै स्थानीयलाई शिविरले राहत मिलेको हो ।
सोलुदूधकुण्ड नगरपालिका–७ गार्मामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा झण्डै दुई सय जना स्थानीयले सेवा लिएका छन् । मद्दत नेपाल नामक गैरसरकारी संस्थाले गार्मा स्वास्थ्य चौकीमा आयोजना गरेको शिविरमा १८७ जना गार्मावासीले स्वास्थ्य सेवा लिएको वडाध्यक्ष सोनामग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
मद्दत नेपाल मार्फत रोक्पा अर्गनाइजेशनबाट आएका डा. टसी शेर्पासहितका स्वास्थ्यकर्मीहरुले सुगर, प्रेसर, ग्याष्ट्रिक लगायतका रोगका लागि निःशुल्क औषधी समेत वितरण गरेको अध्यक्ष शेर्पाले बताउनुभयो । नागरिकको स्वास्थ्य समस्यालाई गाउँमै हल गर्ने उदेश्यका साथ वडा कार्यालयको समन्वयमा निःशुल्क शिविरको आयोजना गरेको बताइएको छ ।
निःशुल्क स्वास्थ्य शिविर वडा कार्यालयले आगामी दिनमा प्रत्येक बर्ष आयोजना गर्ने अध्यक्ष शेर्पाले बताउनुभयो । हामी नागरिकको स्वास्थ्यप्रति एकदमै गम्भिर छौँ, सबै नागरिकहरु उपचारका लागि सुविधा सम्पन्न अस्पतालसम्म पुग्न सक्ने अवस्थाका हुदैनन्, अर्कोतर्फ गाउँघरका मानिसहरु सामान्य स्वास्थ्य समस्या पनि सहेर बस्ने गर्छन्, त्यसैले उनीहरुलाई पनि चिकित्सकको पहुँचमा पु¥याई उपचार गर्नुपर्छ भन्ने भावनाको विकास गर्नु हाम्रो उदेश्य हो, उहाँले भन्नुभयो ।