पहिलो पटक एम्बुलेन्स पाए महाकुलुङबासीले

सन्तोष राउत/सोलुखुम्बु । विगतका वर्षहरुमा डोको र स्ट्रेचरलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्दै आएका सोलुखुम्बुको अति दुर्गम गाउँपालिका महाकुलुङ गाउँपालिकामा एम्बुलेन्स पुगेपछि स्थानीय हर्षित भएका छन् । भारत सरकारको अनुदान सहायतामा महाकुलुङमा एम्बुलेन्स पुगेपछि उपचारमा सहज हुने भन्दै स्थानीयमा खुशी छाएको हो ।

स्थानीय सुभधनी कुलुङले भन्नुभयो, पहिले डोको र स्ट्रेचरमा बिरामी बोकेर उपचारका लागि लैजानुपर्ने अवस्थामा एम्बुलेन्स आउँदा खुशीको त सीमा नै छैन, अब गाउँले जो कोही बिरामी पर्दा बोक्ने साधन नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । एम्बुलेन्स गाउँमा आउँदा उहाँ जस्ता सर्वसाधारणहरु धेरै खुशी भएका छन् ।

नवनिर्वाचित गाउँपालिका अध्यक्ष सुर्यबहादुर कुलुङको विशेष पहलमा एम्बुलेन्स प्राप्त भएको हो । अध्यक्ष कुलुङले भन्नुभयो, जनताको स्थास्थ्य सबैभन्दा महत्वपूर्ण हो, मेरो पहिलो प्राथमिकता पालिकाबासीलाई स्वास्थ्यमा सहज पहुँच बनाउने भएकाले पहिलो काम स्वरुप एम्बुलेन्स ल्याउन पहल गरेको हो । एम्बुलेन्स प्राप्त गर्नका लागि पासाङ शेर्पा, संकल्प किराँती र स्वास्थ्य संयोजक हरि आचार्यको सहयोग रहेको उहाँले बताउनुभयो ।

जटिल विरामी परेका बेला स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेका विरामीलाई जिल्ला अस्पताल तथा अन्य स्थानमा उपचारका लागि लैजान सजिलो हुन्छ । यससँगै पालिकामा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने पनि आफ्नो लक्ष्य रहेको उहाँको भनाइ छ । अध्यक्ष कुलुङले एम्बुलेन्स सञ्चालनको दिगोपनाकाका लागि कार्यविधि बनाएर न्यूनतम शुल्कमा महाकुलुङका नागरिकलाई सेवा प्रवाह गर्ने बताउनुभयो ।

त्यस्तै, एम्बुलेन्स आएपछि स्थानीयलाई बिरामी हुँदा तत्काल उपचारमा लैजान सहज हुने वडा अध्यक्ष प्रदिप कुलुङले बताउनुभयो । गाउँ गाउँ सडक सञ्जालमा जोडिसकेकाले महाकुलुङमा एम्बुलेन्स सञ्चालनबाट विरामीलाई अस्पतालसम्म पु¥याउन निकै राहत पुग्ने अपेक्षा स्थानीयको छ ।

एम्बुलेन्सबाट सडक पुगेका सबै स्थानबाट विरामी ल्याउने र स्वास्थ्य चौकीमा उपचार हुन नसकेका विरामीलाई जिल्ला अस्पताल, ओखलढुङ्गाको मिसन अस्पताल र राजधानीसम्म लैजाने व्यवस्था गर्न सकिने गाउँपालिकाका स्वास्थ्य संयोजक हरि आचार्यले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार