छात्रवृत्ति पाएपछि दुर्गमका विद्यार्थीलाई पढाइमा सहज

सन्तोष राउत/सलुखुम्बु आफ्ना बच्चालाई कसरी पढाउने भन्ने चिन्ता भइरहेका बेला वार्षिक छात्रवृत्ति पाएपछि धेरै सहज भएको छ, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ४ सुर्के चिवाङका एक अभिभावक पर्खिधन राईले खुसी हुँदै भन्नुभयो ।

अर्का अभिभावक कुसुम श्रेष्ठले भन्नुभयो, आफ्नो आर्थिक अवस्था कमजोर भएका बेला छोराछोरी पढाउन निकै कठिन भएको थियो, आर्थिक सहयोग पाउँदा अब पढाउन पाउने भएकाले खुसी लागेको छ । यसरी सहयोग पाउँदा शिक्षा दिन सकिएला जस्तो लागेको उहाँको भनाइ छ । उहाँ जस्ता धेरै अभिभावकले छात्रवृत्ति पाएपछि बच्चाको पढाइमा सहज भएको बताउनुभयो ।

हिमालयक सोलिडारिटी ट्रेक्स एण्ड एक्सपिडिसनका संस्थापक सदस्य तथा स्थानीय पासाङ शेर्पाको पहलमा चिवाङ आधारभूत विद्यालयका १५ जना जेहेन्दार विद्यार्थीलाई प्रतिविद्यार्थी वार्षिक सात हजार रुपियाँका दरले छात्रवृत्ति उपलब्ध भएपछि पठनपाठनमा निकै सजिलो भएको पाइएको हो ।

उहाँले एक वर्षको एकमुष्ट छात्रवृत्ति रकम एक लाख चार हजार नौ सय रुपियाँ वितरण गरेको विद्यालयकी शिक्षिका गीता कार्कीले जानकारी दिनुभयो । उहाँकाअनुसार यस्तो सहयोगले सबै विद्यार्थीलाई पठनपाठनमा सहयोग मिलेको छ ।

जन्मभूमिमा नै केही गरौँ भन्ने भावनाले आफ्नै गाउँमा भएको विद्यालयका विद्यार्थीलाई सहयोग गरेर शिक्षाको ज्योति प्रदान गर्नका लागि सानो सहयोग गरेको पासाङ शेर्पाले बताउनुभयो । शिक्षा मानिसको सबै भन्दा महत्त्वपूर्ण कुरा भएकाले बालबालिकाको शिक्षामा सधैँ सहयोग गरिरहने शेर्पाले बताउनुभयो ।

विगत लामो समयदेखि नै सहयोग गर्दै आउनु भएको शेर्पाले यसअघि पनि स्थानीयलाई सोलारबाट बिजुली बालेको तथा कोभिडको समयमा खाद्यान्न वितरण गरेर सहयोग गरेको स्थानीयको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार