वैदेशिक रोजगारीमा उजुरी बढे, आफन्त र एजेन्टबाटै ठगी

वैदेशिक रोजगारीमा जाने अधिकांश युवा दाजुभाइ, दिदीबहिनी, आफन्त र वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन्, यो क्रममा बढ्दो छ ।

वैदेशिक रोजागर विभागका अनुसार आव २०७८/७९ मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका एक हजार ७४२ वटा उजुरी परेका छन् । अघिल्लो आर्थिक वर्ष यस्तै प्रकृतिका ७८० वटा उजुरी परेका थिए । पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा उजुरीको सङ्ख्या दोब्बरभन्दा बढी भएको हो ।

आव २०७८/७९ मा उजुरीबापत ६५ करोड ७१ लाख ५८ हजार रुपियाँ दाबी गरेकामा आव २०७७/७८ मा एक अर्ब ३१ करोड ४५ लाख ९५ हजार रुपियाँ माग दाबी गरिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७८/७९ मा उजुरीको सङ्ख्या धेरै भए पनि दाबी रकम भने कम रहेको छ ।

विभागका महानिर्देशक शेषनारायण पौडेलले विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने र विदेशमा पुगेर समस्यामा परेपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको सङ्ख्या धेरै भएको जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीका क्रममा ठगीमा परेर भनेर आउने उजुरी सबैभन्दा बढी संस्थागततर्फका भए पनि ठगीको रकम तुलना गर्दा व्यक्तिगतकै बढी हुने गरेको पाइन्छ ।  विभागका महानिर्देशक पौडेलले व्यक्तिगत रूपमा हुने ठगी युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा पठाउने भन्दै पढेलेखेकै व्यक्ति पीडित हुने गरेको र रकम पनि ठूलो परिणामको हुने गरेको बताउनुभयो ।

व्यक्तिगततर्फ उजुरी गर्न आउनेमा म्यानपावर संस्था, कन्सल्टेन्सी, ट्राभल एजेन्सीबाट ठगिए पनि सबैभन्दा बढी एजेन्टबाट ठगिने गरेको उहाँले बताउनुभयो ।

विभागमा खाडी र मलेसिया जाने श्रमिकभन्दा अमेरिका, क्यानडा, पोर्चुगल, पोल्यान्डजस्ता देश पठाइदिन्छु भन्दै लाखौँ रुपियाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको सङ्ख्या पनि ठूलो छ । यस्तो उजुरीमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही र क्षतिपूर्ति दिलाउने गरेको छ । विभागका अनुसार म्यानपावर कम्पनीको नाममा आउने उजुरी कानुनी दायरामा कमै मात्र जान्छ तर व्यक्तिगत उजुरी भने कानुनको दायरामा बढी जाने गरेको छ ।

अदालतमा ८७ वटा मुद्दा दायर

विभागका अनुसार आव २०७८/७९ मा ८७ वटा मुद्दा अदालतमा दायर भएका छन्, जसमा व्यक्तिगत ठगीविरुद्धका ७६ रहेका छन् भने कन्सल्टेन्सी, ट्राभल एजेन्सी र संस्थाविरुद्धका ११ वटा छन् । अदालतमा दायर भएका मुद्दामा २२ करोड ६८ लाख ९४ हजार बिगो रकम माग दाबी भएको विभागले जनाएको छ ।

विभागका अनुसार सो अवधिमा विभागमा आएका एक हजार ७४२ उजुरीमध्ये ४१५ वटा मिलापत्र गराइएको छ । सोही अवधिमा मिलापत्रबाट ३१ करोड ७९ लाख १९ हजार रुपियाँ पीडकबाट पीडितलाई भराइएको छ ।

विभागमै उजुरी गर्नुपर्ने बाध्यता

वैदेशिक रोजगार ऐन र नियमावलीअनुसार वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनाको उजुरी लिने र मिलापत्र गराउने अधिकार जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई पनि छ तर यस्ता ठगीका उजुरीको अनुसन्धान गर्ने, मुद्दा दायर गर्ने, जरिवाना गर्ने अधिकार वैदेशिक रोजगार विभागलाई मात्रै छ ।

वैदेशिक रोजगारीका अधिकांश उजुरी जरिवाना गर्नुपर्ने र मुद्दा दायर गर्नुपर्ने हुने गरेको वरिष्ठ अधिवक्ता सोम लामिछानेले बताउनुुभयो ।

उहाँले वैदेशिक रोजगारीमा हुने ठगीविरुद्ध उजुरी दिन केन्द्रमा रहेका विभागमै आउनुपर्ने बाध्यता भएकाले यसको अन्त्य गर्न विभागको सम्पूर्ण अधिकार जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई हुनेगरी कानुनी व्यवस्थाको आवश्यकता औँल्याउनुभयो ।  यो समाचार सीता शर्माले गोरखापत्र अनलाइनमा लेख्नुभएको हो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार