गठबन्धन छ चुनाव जितिहाल्छु भनेर टिकट माग्न नआउनुस्, जनताको काम गर्नुस्: देउवा

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई जनताका मन जित्ने गरी काम गर्न निर्देशन दिएका छन्।वैशाखमा भएको स्थानीय चुनावबाट जितेर आएका जिल्ला समन्वय समितिका ३४ जना प्रमुख, २३ जना उपप्रमुख, १४१ जना मेयर, ११० जना उपमेयर, १८८ जना अध्यक्ष र १९० जना उपाध्यक्षलाई निर्देशन दिँदै सोमबार सभापति देउवाले अझै पनि सिंहदरबारको अधिकार गाउँमा नपुगेको बताउनुभयो ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ललितपुरमा गरेको कार्यक्रममा देउवाले जनप्रतिनिधिहरूलाई भन्नुभयो- जनताको मन जित्ने गरी काम गर्नुस्।

सभापति देउवाले सत्ता गठबन्धनबीच चुनावी तालमेल गरेर जाँदा स्थानीय चुनावमा कांग्रेसले सन्तोषजनक सिट जितेको उल्लेख गर्नुभयो । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पनि सत्ता गठबन्धनबीच तालमेल गरेर जाने उहाँले बताउनुभयो ।

‘आमचुनावमा पार्टीका पक्षमा राम्रो परिणाम आउन जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने विश्वास लिएको छु,’ देउवाले भन्नुभयो, ‘२०७४ मा हामी एक्लै चुनाव लड्नुपर्ने स्थिति थियो। राम्रो मत ल्याउँदा ल्याउँदै पनि हामीले विपक्षी गठबन्धन (एमाले-माओवादी) बाट प्रभावित भइयो।’

उहाँले फेरि पनि गठबन्धन गरेर चुनावमा सफलता हासिल गर्नुपर्ने अवस्था आएको बताउनुभयो। सिट बाँडफाँटका लागि दलहरूबीच छलफल भएको र केही दिनमा निष्कर्षमा पुगिने देउवाले बताउनुभयो।

उहाँले धेरै क्षेत्रमा उम्मेदवारी दिनेतर्फ लाग्नुभन्दा पनि उम्मेदवारी दिएका ठाउँमा जित्नुपर्ने बताउनुभएको छ।

‘धेरै ठाउँमा उम्मेदवार दिनेभन्दा पनि कति ठाउँमा जित्छौं भन्ने महत्वपूर्ण हो। यसलाई सबै साथीहरूले मनन गरेर एकता र सक्रियतापूर्वक लागौं,’ देउवाले भन्नुभयो ।

गठबन्धन गरेर मात्रै पनि चुनाव नजितिने उहाँको भनाइ थियो। काठमाडौंलगायत ठाउँमा स्थानीय चुनावमा गठबन्धन गर्दा पनि स्वतन्त्रले जितेको उहाँको भनाइ थियो।

‘जनताको मन जित्ने काम गर्नुहोस्। आजैदेखि जनताका बीचमा जानुहोस्। समस्या भएका ठाउँमा हारिएको छ। जनता देशको मालिक हो। जनताभन्दा ठूलो कोही छैन। जनताको समर्थन र मन जित्ने गरी काम गर्नुहोस्,’ उहाँले भन्नुभयो , ‘सिंहदरबारको अधिकार गाउँमा आयो भन्छन् तर हामीले केही पाएनौं भनेर गाली गर्न थालिसके।’

गठबन्धन भइहाल्छ भनेर टिकट माग्नेहरू बढेको उहाँले बताउनुभएको थियो।

‘गठबन्धन छँदैछ चुनाव जितिहाल्छु टिकट चाहियो भन्ने अवस्था छ,’ देउवाले भन्नुभयो, ‘गठबन्धन सँगसँगै लैजानुपर्ने अवस्था छ, टिकट न्यायोचित वितरण हुन्छ।’

टिकट वितरण गर्दा सभापति देउवाले एकलौटी गर्न सक्ने भन्दै कांग्रेस नेता शेखर कोइरालानिकट नेताहरूले आशंका व्यक्त गरिरहेका छन्।

त्यसतर्फ लक्षित गर्दै देउवाले न्यायोचित ढंगबाट टिकट वितरण गरिने बताउनुभयो।

‘पार्टीमा घात-प्रतिघातका रोगहरू छन्। त्यो रोगलाई हटाउनु छ। जनताको समर्थनसहित पार्टी एकढिक्का भएर चुनावमा जानुपर्छ,’ देउवाले भन्नुभयो, ‘टिकट वितरणमा कसैलाई काखा र कसैलाई पाखा गर्दिनँ।’

कांग्रेस कार्यसम्पादन समितिको गत शनिबार बसेको बैठकले उम्मेदवारको मनोनयन पत्रमा हस्ताक्षर गर्ने अधिकार सभापति देउवालाई दिने निर्णय गरेको थियो। कांग्रेसमा टिकट भने केन्द्रीय संसदीय बोर्डले वितरण गर्छ। यो बोर्डमा पदाधिकारीबाहेक नेता रामचन्द्र पौडेल मात्रै सदस्य छन्, बोर्डले पूर्णता पाइसकेको छैन।

सभापति देउवाले पार्टीमा सहमति जुटाएरै काम गर्दै आएको बताउनुभएको थियो। ‘पार्टीमा कसैलाई पनि भेदभाव हुँदैन। सबैलाई मिलाएर लैजाने मेरो इच्छा छ,’ देउवाले भन्नुभयो।

सभापति देउवाले भ्रातृ संस्थाका प्रमुख तोक्दा नेता शेखर कोइरालासँग परामर्श नगरेको आरोप छ। कोइरालालाई राष्ट्रिय भेला बोलाउन कार्यकर्ताले दबाब दिइरहेका बेला सभापति देउवाले आइतबार बालुवाटारमा उहाँसँग छलफल गर्नुभएको थियो।

आफू र सभापति देउवासँग बालुवाटारमा आइतबार छलफल भएको कोइरालाले बताउनुभयो।

‘उहाँले सबैलाई मिलाएर लैजान्छु भन्नुभएको छ, हेरौं न,’ कोइरालाले सोमबार ललितपुरमा पत्रकारहरूसँग भन्नुभयो, ‘टिकट वितरण पनि न्यायोचित हुन्छ भन्नुभएको छ।’setopati.com bata

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार