सेवा विस्तार गर्दै फाप्लु अस्पताल

सन्तोष राउत/सोलुखुम्बु । साँढे पाँच दशकदेखि सञ्चालनमा रहेको सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा विभिन्न सेवा थप्न थालेको छ । केही दिनअघि मात्र सुविधा सम्पन्न भवनबाट सेवा शुरु गरेको अस्पतालले जिल्लामै पहिलो पटक इन्डोस्कोपी सेवा शुरु गरेको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौलाले इन्डोस्कोपी सेवाको उद्घाटन गर्दै इन्डोस्कोपी सेवालाई निरन्तरता दिन र अस्पतालको सेवालाई प्रभावकारी बनाउन आर्थिक पक्ष सबल हुनुपर्ने भएकाले त्यसको लागि आफू लागि पर्ने बताउनुभयो ।

अस्पतालमा भएका सबै सेवा नियमित रुपमा सञ्चालन गरी जिल्लावासीलाई सेवा प्रदान गर्न डाक्टर नियमित रुपमा राख्नका लागि पनि पहल गर्ने उनको भनाइ छ । अस्पतालले पछिल्लो समय विभिन्न सेवाहरू थप गर्दै लगेको छ । विगत केही दिनअघि मात्र अक्सिजन प्लान्ट स्थापना गरी आवश्यक अक्सिजन उत्पादन गरिरहेको छ ।

सेवा शुरु गर्ने क्रममा सोही अस्पतालमा लामो समय सेवा दिनुभएका स्वास्थ्य विभागका पूर्व निर्देशक समेत रहनुभएका डा. मिङमार ग्याल्जेन शेर्पाले इन्डोस्कोपी सेवाकै लागि मात्र जिल्लाका नागरिक जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्यका लागि यसले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

जिल्लामै पहिलो पटक इन्डोस्कोपी सेवा सुरु भएको भन्दै अस्पतालकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले अब जनतालाई पेट सम्बन्धी रोग पत्ता लगाएर प्रभावकारी सेवा दिन सहज हुने बताउनुभयो । सोलुखुम्बु पोलिटेक्निकल एकेडेमीले उपलब्ध गराएको इन्डोस्कोपी मेशिन अस्पताल विकास समितिले सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

इन्डोस्कोपी सेवा शुरु भएपछि स्थानीय खुशी भएका छन् । सोलुदूधकुण्ड नगरपालिका ५ सेर्गाका दावा शेर्पाले भन्नुभयो, यसअघि जिल्लामा इन्डोस्कोपी सेवा नहुँदा आफन्तलाई राजधानीको अस्पतालमा लगेर उपचार गर्दा निकै खर्च लागेको थियो, अब भने जिल्लामै सेवा पाउँदा कम खर्चमा इन्डोस्कोपी हुनुभयो । उहाँ जस्ता धेरै स्थानीयले कम खर्चमा नजिकै सेवा पाउने भएपछि उपचार छिटो हुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार