सञ्चालनमा आयो सोलु सामुदायिक अस्पताल

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–६ छुल्यामुमा सामूदायिक अस्पताल सञ्चालनमा आएको छ । साढे तीन करोड रुपियाँको लागतमा १५ शैयाको सोलु सामदायिक अस्पताल बनेको हो ।

जिल्लाकै सुविधा सम्पन्न अस्पताल बनाएर नागरिकलाई सेवा दिने उद्देश्यले निर्माण गरिएको अस्पतालमा सिटी स्क्यान, सर्जरी, एक्सरे, अल्ट्रासाउण्डलगायतका सेवा प्रदान गर्ने अस्पतालका अध्यक्ष तथा प्रमुख डा.राजेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

आफ्नै जिल्लामा दुःखी गरिबको सेवा गर्न नाफा रहित अस्पताल सञ्चालन गर्ने विगत सात वर्षदेखिको सपना पुरा भएको भन्दै डा. बस्नेतले छिटै शल्यक्रियासहितका सेवा अस्पतालबाट प्रदान गरिने बताउनुभयो । एक वर्षभित्र ३० शैयाको अस्पताल बनाउने र पाँच वर्षभित्रमा विभिन्न सुविधा थप गर्दै सहित एक सय शैयाको अस्पताल बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ ।

पाँच वर्षमा अस्पतालका सबै संरचना निर्माणको काम सक्ने गरि १५ करोड रुपियाँ बजेट छुट्याइएको अस्पतालका कार्यकारी प्रमुख क्षितिज नकर्मीले बताउनुभयो । अस्पताल नजिकै नाजिङ स्थानमा मेडिकल कलेज सञ्चालनका लागि १२ रोपनी जग्गा समेत लिइएको उहाँले जानकारी दिनुभयो ।

अस्पतालको उद्घाटन गर्दै सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा निकै फड्को मारेको दाबी गर्दै सोलु सामूदायिक अस्पताललाई दिगो सञ्चालनका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोलुदूधकुण्ड नगरपालिकाका उपमेयर गान्धिमाया तामाङले जिल्लामा विगतको तुलनामा स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको बताउनुभयो ।

यसअवसरमा डा.राजेन्द्र बस्नेतले पाँच वर्षे कार्ययोजना सार्वजनिक गर्दै एक वर्षभित्रमा पिएफटी फोक्सो रोगको विशेष उपचार विधि, डिजिटल एक्स–रे एक महिनाभित्रमा, अपरेसन थिएटर तीन महिनाभित्रमा, ल्याब अपग्रेड गरी बी ग्रेडको ल्याब बनाइने र ३० बेडको अस्पताल बनाइने जानकारी दिनुभयो ।

त्यस्तै, तीन वर्षभित्रमा मुटुको उपचार, शल्यचिकित्सा, प्रसुती तथा नवजात शिशुको उपचार तथा स्त्री रोग विभाग, डेन्टल विभाग, इन्डोस्कोपी, क्लोनोस्कोपी, आईसियु र ५० शैयाको अस्पताल बनाउने लक्ष्य अस्पतालको छ । पाँच वर्षभित्रमा सिटी स्क्यान, आइसियु, सिसियु र डिआईसियु, पारामेडिकल कलेज र एक सय शैयाको अस्पतालमा स्तरोन्नती गर्ने लक्ष्य रहेको बताइएको छ ।

फोटो : दिपेन्द्र पराजुली

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार